‘नेपालमा एमसीसी’ सार्वजनिक गर्दै व्याख्यात्मक घोषणा स्मरण

‘नेपालमा एमसीसी’ सार्वजनिक गर्दै व्याख्यात्मक घोषणा स्मरण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई जस्ताको त्यस्तै पास हुन नदिने आफूले निकै मेहनत गरेको स्मरण गर्नुभएको छ । 

हाल सत्तारुढ रहेका नेपाली कांग्रेस र नेकपा एमालेले जस्ताको तस्तै पारित गर्न खाेजेकाे एमसीसी सम्झौता आफूहरुकै अडानका कारण व्याख्यात्मक घोषणासहित पारित हुन सम्भव भएको बताउनुभयो । पार्टी सचिव लिलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसीसी’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यो भनाइ राख्नुभएको हो । 

तत्कालीन नेकपाले एमसीसीबारे अध्ययन गर्न कार्यदल नै बनाएको र कार्यदलले यथास्थितमा पारित नगर्न सुझाव दिएको प्रचण्डकले सम्झना गर्नुभयो ।

‘नेकपाको अध्यक्ष हुँदा मैले एक पटक मात्रै कार्यकारीको भूमिकामा केन्द्रीय समितिको बैठकमा अध्यक्षता गर्ने मौका पाएको थिएँ, त्यहि बैठकमा एमसीसीको एजेण्डा थियो’, उहाँले भन्नुभयो, ‘बैठकले तत्काल एमसीसीको बारेमा कुनै औपचारिक धारणा नराख्ने, त्यसको अध्ययनको लागि कार्यदल बनाउने र त्यसले दिएको सुझाव प्रतिवेदनकै आधारमा नेकपाको औपचारिक धारणा सार्वजनिक गर्ने निर्णय भएको थियो ।’ 

एमसीसी अध्ययन गर्दै जाँदा कांग्रेस सभापति शेरबहादुर देउवा र ओली जस्ताको तस्तै पारित गर्नुपर्ने मनस्थितिमा पुगेको प्रचण्डको भनाइ छ ।

‘तर हामीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त केही कानुनविद्धहरूले व्याख्यात्मक टिप्पणीको अवधारणा सुझाव दिएपछि हामीले त्यसलाई अघि बढायौँ‘, उहाँले थप्नुभयो, ‘जसरी पनि एमसीसी पारित भइनैहाल्थ्यो, हामीले विरोध गरेर रोकिनेवाला थिएन, ओलीजी र देउवाजी त फुलस्टप समेत नचलाउने स्थितिमा हुनुहुन्थ्यो, तर हामीले भोलिका दिनमा हुने सम्भावित बदमाशीलाई निगरानी राख्न व्याख्यात्मक टिप्पणी राख्यौँ ।’ 

पूर्व प्रधानमन्त्रीसमेत रहुनभएका प्रचण्डले माओवादी अहिले पनि एमसीसीका कतिपय विषयमा असहमत रहेको जानकारी गराउनुभयो ।

‘जस्ताको तस्तै पारित हुन दिनुभन्दा त्यसमा बरु व्याख्यात्मक टिप्पणी गरेर अंकुश लगाउन खोजेका हौँ, त्यो टिप्पणीले एमसीसी पूर्णरुपले अनुमोदन भएको बताउँदैन, आज पनि कतिपय कुरामा हाम्रा असमति छन्, तर यसलाई संयमित भएर अघि लैजानुपर्छ भन्ने हाम्रो मान्यता हो’, उहाँले थप्नुभयो ।

टिप्पणीहरू