प्रचण्डले क्रान्ति गर्ने, नेताका छोराछोरीले बोर्डिङ पढ्न नपाउने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूला र पुराना पार्टीका नेताहरुको दिमागमा क्रान्ति छिराउन चाहेको बताउनुभएको छ ।
अखिल (क्रान्तिकारी) ले आज काठमाडौँमा आयोजना गरेको ‘शैक्षिक संवाद’ कार्यक्रममा बोल्दै उहाँले केही पात्रहरुको दिमागमा क्रान्ति छिराउन अत्यावश्यक भैसकेको टिप्पणी गर्नुभयो । नत्र शैक्षिक सुधार नहुने प्रचण्डको ठाेकुवा छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न सरकारले किन ढिला गरिरहेको ? भन्ने विद्यार्थीको प्रश्नमा प्रचण्डले लामो वेलिविस्तार लगाउनुभयाे । सत्ता गठबन्धनमा रहेका दल र केही शीर्ष नेताकै कारण ऐन रोकिएको उहाँको निष्कर्ष रह्यो ।
‘वास्तवमा शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो, हामीले शिक्षामा सुधारका प्रयास गर्दा गर्दै जसरी ठूला पार्टीहरुले हमला गरे, त्यो देखेर म भन्छु, अर्को ठूलो क्रान्ति चाहिएकै छ नेपालमा', प्रचण्ड भन्नुहुन्छ । यसबारे प्रष्ट्याउँदै उहाँले अबको क्रान्ति सशस्त्र नभई शान्तिपूर्ण हुने बताउनुभयो ।
‘सडकबाट एउटा ठूलो क्रान्ति नभएसम्म यिनीहरुको दिमागमा छिर्ने देखिएको छैन’, पूर्व प्रधानमन्त्री प्रचण्ड भन्नुहुन्छ, ‘शिक्षामा, समाजिक न्यायमा, समाजमा अझै केही परम्पराका साङ्लाहरू तोड्न बाँकी छ, हामीले संघीय लोकतान्त्रिक गणतन्त्र पाए पनि ब्युरोक्रेसीमा, न्यायालयमा, ठूला र पुराना भनिएका पार्टीका नेताहरुको दिमागमा क्रान्ति ल्याउन सकेका छैनौ, त्यसैले एउटा क्रान्ति आवश्यक छ नेपाल, यिनीहरुको दिमागमा छिराउनकै लागि भए पनि क्रान्ति आवश्यक छ ।’
मुलुकको शिक्षा सुधारका लागि माओवादीले नयाँ अवधारणा ल्याउन लागेको पनि उहाँले नकारी गराउनुभयो । नेताका छोराछोरीले बोर्डिङ स्कुल पढ्न नपाउने गरी पार्टीमा नियम बनाउने उहाँको दाबी छ ।
‘अहिले हामीले पार्टीका सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय वा त्यस्ता कलेजमा पढाउने र विदेश नपठाउनेबारे हाम्रो छलफल भएर निर्णयतिर गइरहेका छौँ’, प्रचण्डको भनाइ रह्यो ।
टिप्पणीहरू