जनार्दनले आत्मालोचना नगरेको बारे माओवादी सर्कुलर

जनार्दनले आत्मालोचना नगरेको बारे माओवादी सर्कुलर

नेकपा (माओवादी केन्द्र) ले हालै सम्पन्न स्थायी समितिको बैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले आत्मालोचना गर्न अस्वीकार गरेको विषय औपचारिक रुपमा मातहतका कमिटीलाई जानकारी गराएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयबाट तल्लो तहका कमिटीहरूलाई पठाइएको सर्कुलरमा शर्माले पार्टीको आग्रह अस्वीकार गरेको जानकारी दिइएको छ ।

पूर्वअर्थमन्त्री समेत रहेका शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि लगाएका आरोपहरू पनि खारेज गरिएको सर्कुलरमा उल्लेख छ। आत्मालोचनाको लागि बैठकको अन्तिम क्षणसम्म उनलाई समय दिइए पनि उनले माइन्युटमा हस्ताक्षर नगरेको विषयबाहेक अन्य कुनै विषयमा आत्मालोचना नगरेको उल्लेख छ।

सर्कुलरमा भनिएको छ, ‘छलफलका क्रममा विशेषतः पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रूपमा माइन्युटमा हस्ताक्षर नगर्ने, गुटबन्दीजन्य गतिविधिहरू सञ्चालन गर्ने कार्यहरू पार्टी नीतिविपरीत भएको ठहर गर्दै प्रभाकरलाई आत्मालोचना गर्न र गल्ती कमजोरी सच्याउन स्थायी समितिका सदस्यहरूले जोड दिएका थिए ।’

सर्कुलरअनुसार अध्यक्ष प्रचण्डले पनि बैठकको अन्तिम क्षणसम्म प्रभाकरलाई सुझाव र आलोचना आत्मसात् गर्दै आत्मालोचना गर्न आग्रह गरेका थिए । तर प्रभाकरले माइन्युटमा हस्ताक्षर नगरेको विषयबाहेक अन्य विषयमा ठोस रूपमा आत्मालोचना नगरेको जनाइएको छ ।

यसैबीच, माओवादी केन्द्रले वाईसीएलका पाँच पूर्व उपाध्यक्षलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय पनि गरेको छ । सर्कुलरमा सुजित ढुंगाना, ज्ञानेन्द्रबहादुर गुरूङ, गगनबहादुर मल्ल, मञ्जु बम र केहरसिंह गुरूङलाई वैकल्पिक केन्द्रीय सदस्यमा नियुक्त गरिएको उल्लेख छ ।

टिप्पणीहरू