कान्छी भित्र्याएर जेठीलाई दमन, घोर अत्याचार र प्रतिगमन
सोलुखुम्बुबाट निर्वाचित माओवादी केन्द्रका कोशी प्रदेश सभा सदस्य गोम्बु शेर्पा हिजोआज निकै चर्चामा छन् । प्रदेश सभाको ३२ महिने कार्यकालमा सबैभन्दा धेरैपटक संसदमा समसामयिक विषय उठाएर सरकारको ध्यानाकर्षण गराएका उनी कहिले आफ्नै लयमा, कहिले लोकभाकामा, त कहिले र्याप शैलीमा गीत गाउँछन् । गीतमा तथ्य र तर्क थपेर बेथिति, विसंगति र भ्रष्टाचारबारे प्रदेश सभामा आवाज उठाउँदै आएका छन् ।
हिजोको बैठकमा उनले सरकारविरुद्ध अर्को चोटिलो मुक्तक सुनाए । सरकारले मुलुकी संहिता संशोधन गरेर बहुविवाह गर्न पाउने कानुन ल्याउन लागेको विरोधमा युवा सांसद शेर्पाले ‘कान्छी चाहिने भीभीआईपीहरू को को हुन्, कानूनको अनुसूचीमै नाम लेख’ भन्दै सरकारसँग व्यंग्यात्मक आग्रह गरे।
वर्तमान सरकारको बिग्रिएको पाराले सदियौँदेखि आफ्ना हक–अधिकारका लागि लड्दै आएका महिलाको मुक्ति आन्दोलनलाई मत्थर पार्न खोजेको र पुरुषलाई फेरि छाडा बनाउन लागेको आरोप उनको छ । शेर्पाका अनुसार सरकारले ल्याउन लागेको बहुविवाहसम्बन्धी कानुनलाई घोर अत्याचार र प्रतिगमनको उदाहरण भन्दै महिलालाई सौता उपहार दिने काम गर्दै समानता, न्याय र रोजगारको अधिकारलाई केवल हावाको कुरा बनाउने प्रयास गरेको छ ।
उनको मुक्तकको सार समाजवाद उन्मुख संविधान र सभ्य समाजको चीरहरण गरेर बनाइने यस्तो कानुन बिग्रेका पुरुषको इच्छा मात्र पूरा गर्ने हो । त्यसका लागि सरकारले सारा पुरुषलाई नै बेइमान देखाएर संशोधन गर्न खोजेको उनको बुझाई छ । मुक्तकको अन्त्यमा उनले प्रहार गरे ः
‘यसरी केही थान बिग्रेका पुरुषको इच्छाका लागि सारा पुरुषलाई बेइमान नदेख, बरु कान्छी चाहिने भीभीआईपीहरू को को हुन्, कानूनको अनुसूचीमै नाम लेख ।’ कोशी प्रदेश सभाको दोस्रो कार्यकालको ३२ महिने अवधिमा ९३ जना सांसदमध्ये ४३ पटक धारणा राखेका उनी चर्चामा आइरहन्छन् । शून्य समयमा पनि सबैभन्दा बढी बोल्ने उनी अग्रपंक्तिमा देखिन्छन् । शून्य समयमा मात्र २९ पटक बोलेर जनताका विभिन्न समस्या उठाएका छन् ।
‘कज्र्याङ’ उपनामले चिनिने प्रदेश सभा सदस्य शेर्पा पछिल्लो समयमा गीति–लयमा सरकारलाई व्यंग्य गर्दै भ्रष्टाचार, बेथिति, विकृति र विसंगतिको विरोधमा बोलेर चर्चित छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो निर्वाचन क्षेत्र झापाको गौरादह पोखरीका लागि हरेक वर्ष करोडौँ बजेट विनियोजन गरेको विषयमा उनले ‘गौरादहको बजारैमा माया हाम्रो बस्यो’ भन्दै व्यंग्य गरेका हुन् ।
त्यस्तै, ‘भिजिट भिसा’ प्रकरणमा ‘भिजिट भिसामा हजुर, भिजिट भिसामा’ र, लोडसेडिङ समस्या तथा भ्रष्टाचारबारे ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’ भन्दै प्रदेश सभामा गीत गाएर सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।
सोही क्रममा, कोशी प्रदेश सभाको हिजोको बैठकमा उनले वाचन गरेको व्यंग्यात्मक मुक्तक यस्तो थियोः
ए ! सरकार कति बिग्रेको तिम्रो पारा
नैतिक मूल्य भुलेर लाग्न खोज्दैछौ झारा
छाडा बनाउन खोज्छौ पुरुषलाई, बनाउँदैछौ घरभाडा
महिला मुक्ति आन्दोलनको उपलब्धिलाई काट्दैछौ डाँडा
महिला चाहन्छन् समानता, न्याय र रोजगार
तर, तिमी दिँदैछौ महिलालाई सौता उपहार
कान्छी भित्र्याएर जेठीलाई दमन
यसैलाई भनिन्छ– घोर अत्याचार र प्रतिगमन
गर्दैछौ संविधान र सभ्य समाजको चीरहरण
कानून फेरेर पुरुषलाई गराउँदैछौ बाहिर विचरण
यसरी केही थान बिग्रेका पुरुषको इच्छाका लागि
सारा पुरुषलाई बेइमान नदेख
बरु कान्छी चाहिने भीभीआईपीहरू को को हुन्,
कानूनको अनुसूचीमै नाम लेख
होइन भने यस्ता सामन्ती हर्कत तुरुन्त बन्द गर
सारा दुर्गामाता काली बने बहेला होला महिषासुर ।।
टिप्पणीहरू