अमेरिकीलगायत १६ देशका राजदूतलाई एकैसाथ चीनको सन्देश

अमेरिकीलगायत १६ देशका राजदूतलाई एकैसाथ चीनको सन्देश

चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकालगायत विभिन्न मुलुकका नवनियुक्त राजदूतलाई चीन र चिनियाँ जनताको शुभेच्छा सुनाउनुभएको छ । नयाँ राजदूतहरूको ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति सीले सम्बन्धित मुलुकका राष्ट्रप्रमुख तथा जनताप्रति शुभेच्छा व्यक्त गर्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

उहाँले राजदूतहरुलाई आफ्नो कार्यकालमा वास्तविक रुपमा चीनबारे गहिरो जानकारी हासिल गर्ने र आपसी सम्मान, समानता, पारस्परिक लाभ तथा दुवै पक्षको हित हुने सहकार्यलाई अझै गहिरो बनाउने अपेक्षा व्यक्त गर्नुभएको हो । सीले भन्नुभएको छ, ‘चीनको अर्थतन्त्र स्थिररूपमा अघि बढिरहेको छ भने ‘चिनियाँ आधुनिकीकरण’ मार्फत् महान पुनरुत्थानको बाटोमा छौं । उच्चस्तरीय खुलापनलाई निरन्तर अघि बढाउँदै चीनको विशाल बजारलाई अवसरको रुपमा लिन आग्रह गर्छौं । यसले विश्व अर्थतन्त्रको स्थिरता र वृद्धिमा टेवा पुर्याउनेछ ।’

वर्तमान अस्थिर अन्तर्राष्ट्रिय परिवेशको सन्दर्भमा सीले विश्व एकता, सहकार्य र मानव जातिको साझा भविष्य निर्माणका लागि प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । यो वर्ष चीनले जापानी आक्रमणविरुद्धको जनयुद्धमा प्राप्त गरेको विजय र संयुक्त राष्ट्रसंघको स्थापनाको ८०औं वार्षिकोत्सव मनाउँदै छ ।

त्यसैले संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेको अन्तर्राष्ट्रिय प्रणाली तथा अन्तर्राष्ट्रिय कानुनमा आधारित विश्व व्यवस्थालाई कायम राख्न सबै मुलुकसँग सहकार्य गर्ने चीनको अडानबारे उहाँले स्पष्ट पार्नुभएको छ । 

सो क्रममा सांघाई सहयोग संगठन (एससीओ) का महासचिव नुरलान यर्मेकबायेभलाई पनि राष्ट्रपति सीले भेट गर्नुभएको बताइन्छ । उक्त अवसरमा भियतनाम, पानामा, डोमिनिकन गणतन्त्र, अल्बानिया, न्युजिल्यान्ड, पपुआ न्यू गिनी, अङ्गोला, इजिप्ट, निकारागुवा, इरान, चिली, युक्रेन, बेनिन, संयुक्त राज्य अमेरिका, इजरायल र दक्षिण सुडानका राजदूत थिए ।

टिप्पणीहरू