सुरक्षाको टुल्समात्रै आतंकवादको समाधान होइन : शक्ति बस्नेत

सुरक्षाको टुल्समात्रै आतंकवादको समाधान होइन : शक्ति बस्नेत फाइल फाेटाे

नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले आतंकवादविरुद्धको लडाईंका लागि सुरक्षा संयन्त्रको प्रयोगमात्र पर्याप्त नहुने धारणा राखेका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले आतंकवाद नियन्त्रणमा सुरक्षा संयन्त्रमात्रै मुख्य आधार हुन नसक्ने बताएका हुन् । सुरक्षा र राजनीतिबीचको सम्बन्धले नै आतंक र आतंवादबीचको भेदलाई परिभाषित गर्ने पूर्व गृहमन्त्रीसमेत रहेका बस्नेतको भनाइ छ । 

‘मिलिटरी एक्टमा रहेको पोलिटिकल आत्मालाई झिकिदिने हो भने त्यसपछि बाँकी आतंक नै रहन्छ । अब त्यसको घनत्व कति छ, आयाम कति छ ? त्यसको प्रभावक्षेत्र कति छ भन्ने कुराले आतंक र आतंवादबीचको भेद र अन्तरसम्बन्धलाई चाहीँ डिफाइन गर्ला’, उनले भने । 

आतंकवाद र आन्तरिक राजनीतिक विद्रोह छुट्याउनुपर्नेमा जोड दिँदै बस्नेतले विविधताको सही व्यवस्थापन नगर्दा समस्या बढ्नेतर्फ सचेत रहन जरुरी रहेको बताए । पछिल्लो समय बढ्दै गएको आतंकवाद नियन्त्रणका लागि मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक पक्षबाट समेत रणनीति तयार गर्नुपर्नेमा उनले जोड दिए । 

‘सुरक्षाको टुल्स मात्रै पनि आतंवादको समाधान होइन । यो एउटा महत्वपूर्ण कम्पोनेन्ट हुन्छ । तर यतिमात्र होइन’, बस्नेत भन्छन्, ‘हामीले सुरक्षालाई समाजको सांस्कृति, सामाजिक र आर्थिक पक्षबाट पनि हेर्नुपर्छ होला । त्यही आधारमा हामीले सुरक्षा रणनीति बनाउन सक्यौं भने यो समस्यासँग जुध्न र समाधान गर्नसक्छौं ।’

टिप्पणीहरू