गण्डकीको प्रशासनिक संरचनामा व्यापक हेरफेर
गण्डकी प्रदेश सरकारले प्रशासनिक संरचनामा व्यापक हेरफेर गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले सात निर्देशनालय खारेज गर्दै ३२ वटा विभिन्न निकायलाई मर्ज गरेर १७ वटा कायम गर्ने निर्णय गरेको हो ।
पर्यटन निर्देशनालय, कृषि निर्देशनालय, पशुपन्छी निर्देशनालय, पूर्वाधार निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र स्वास्थ्य निर्देशनालय खारेज गर्ने निर्णय छ । प्रादेशिक स्वास्थ्य तालिम केन्द्र र स्वास्थ्य व्यवस्थापन केन्द्र पनि खारेज गरिएको छ ।
त्यस्तै ३२ कार्यालयलाई मर्ज गरेर १७ वटा बनाइएको पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार प्रशासनिक संरचना हेरफेर गर्दा १८५ कर्मचारीको दरबन्दीसमेत कटौती भएको छ ।
यसले सरकारलाई झण्डै ५० करोडको आर्थिक भार कम हुने बताइएको छ । अधिकृतस्तरका ४१, सहायकस्तरका ९६ र श्रेणीविहीन ४८ कर्मचारीको दरबन्दी कटौती गरिएकाे मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ‘प्रदेश प्रशासनिक संरचना पुनरावलोकन, अध्ययन तथा सुझाव समिति’ गठन गरेको थियो । समितिले तयार पारेको प्रतिवेदनकै आधारमा प्रशासनिक संरचना हेरफेर गरिएको हो ।
टिप्पणीहरू