नेपालका हिमाल नजिकैबाट चीनको महत्वाकांक्षी रेलमार्ग
चीनले विश्वकै सबैभन्दा महत्वाकांक्षी अर्को एउटा रेल परियोजना अघि सारेको छ । उत्तरपश्चिमका सिन्जियाङ युगुर स्वायत्त प्रदेशको होतानदेखि सिजाङ स्वयात्त प्रदेशको ल्हासा जोड्ने रेलमार्गको निर्माण यो वर्ष थाल्ने अपेक्षा गरिएको छ । यसको निर्माण र सञ्चालनका लागि चीन सरकारको स्वामित्वमा नयाँ कम्पनी दर्ता भइसकेको हङकङको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।
उता सांघाई सेक्युरिटिज न्यूजले जनाए अनुसार, सिन्जियाङ–सिजाङ रेलवे कम्पनीको पुँजी ९५ अर्ब युआन (१३.२ अर्ब अमेरिकी डलर) कायम गरेर दर्ता भइसकेको छ । यो कम्पनी पूर्ण रूपमा चाइना स्टेट रेलवे ग्रुपको स्वामित्वमा हुने छ । कम्पनीले आवास, पर्यटन, खानपान, अन्तर्राष्ट्रिय परियोजना ठेक्कालगायत विविध व्यवसाय पनि सञ्चालन गर्नेछ ।
नयाँ रेलमार्गले ल्हासा–सिगात्से विद्यमान लाइनलाई होतान–सिगात्से नयाँ रुटसँग जोड्दै करिब दुई हजार किलोमीटर लामो रणनीतिक मार्ग बनाउनेछ । यसले चीनको उत्तरपश्चिम र दक्षिणपश्चिम क्षेत्रको निकै विकट भूभागलाई जोड्नेछ ।
सिन्जियाङ–सिजाङ रेलमार्ग तिब्बतलाई चीनको बाँकी भूभागसँग जोड्ने चार योजनामध्ये एक हो । बाँकी तीन लाइनले छिङहाइ, सिचुआन र युन्नान प्रान्तसँग जोड्छन् । छिङहाइ–तिब्बत लाइन सञ्चालनमा छ भने बाँकी दुईको निर्माण कार्य जारी छ ।
हुपेइस्थित हुआयुआन सेक्युरिटिजको एक अध्ययनले भनेको छ, ‘यो महत्वाकांक्षी परियोजनाले सन् २०३५ सम्म ल्हासालाई केन्द्र बनाएर पाँच हजार किलोमीटर लामो विश्वकै उच्चभूमिमा रेल सञ्जाल स्थापना गर्ने लक्ष्य राखेको छ ।’
कम्पनीको अधिकृत पुँजी सुरुवाती लगानी भएकाले कुल खर्चको रुपमा नलिन आग्रह गरिएको छ । उदाहरणका लागि एक हजार ८०० किलोमीटर लामो सिचुआन–तिब्बत रेलमार्ग निर्माणमा अनुमानित ३२० अर्ब युआन लाग्ने छ ।
तिब्बतमा बन्न लागेको सिन्जियाङ–सिजाङ नयाँ रेलमार्गको केही भाग चीन–भारत बीचको वास्तविक नियन्त्रण रेखा नजिक हुने भएकाले यसलाई सामरिक दृष्टिले पनि महत्व ठानिएको छ । अधिकांश रेलमार्ग औसत उचाइ चार हजार ५०० मीटरभन्दा माथिको भूभागमा हुनेछ । यो कुनलुन, काराकोरम, कैलाश तथा हिमालय पर्वत शृंखलाहरू नजिक हुँदै जानेछ । मार्गमा हिमनदी र सँधै हिउँ जम्ने हिमभूमिसमेत पर्नेछ ।
तिब्बती उच्चभूमिमा जाडोमा तापक्रम –४० डिग्री सेल्सियससम्म पुग्छ भने हावामा अक्सिजनको मात्रा कहिलेकाँही ४४ प्रतिशतसम्म झर्छ ।
सिन्जियाङ–सिजाङ रेलमार्गको योजना सन् २००८ मा तयार गरिएको बताइन्छ । यसलाई राष्ट्रिय विकास तथा सुधार आयोगले स्वीकृत गर्दै ‘मध्यम र दीर्घकालीन रेल नेटवर्क योजना’मा समावेश गरेपछि प्रक्रिया अघि बढेको हो । सन् २०२२ को मेमा होतान–सिगात्से खण्डको सर्वेक्षण र डिजाइन टेन्डर शुरु भएपछि महत्वाकांक्षी रेलमार्गले मूर्तरुप लिन लागेको बताइन्छ ।
यातायात मन्त्रालयका अधिकारीहरूले गत अप्रिलमा भनेका थिए, ‘सम्भवतः यो वर्षभित्र निर्माण कार्य शुरु हुनसक्छ ।’
टिप्पणीहरू