मदन भण्डारी फाउण्डेसन पाखण्डीहरुको कब्जामा : एमाले अध्यक्ष

मदन भण्डारी फाउण्डेसन पाखण्डीहरुको कब्जामा : एमाले अध्यक्ष

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेसन पाखण्डीहरूले कब्जा गरेको आरोप लगाउनुभएको छ । पार्टी मुख्यालय च्यासलमा ‘मदन–आश्रित स्मृति प्रतिष्ठान’का नवनियुक्त अध्यक्ष प्रदीप ज्ञवालीसहितका पदाधिकारीलाई सपथ ग्रहण गराउँदै उहाँले फाउन्डेसनलाई “ठगी खाने भाँडो” बनाइएको टिप्पणी गर्नुभएको छ ।

ओलीका अनुसार उक्त संस्था मदन भण्डारीकै विचार विपरीत अघि बढिरहेको र पदाधिकारीहरूको व्यवहार र अभिव्यक्तिले त्यसलाई पुष्टि गरेको छ । ‘पार्टीले नै निष्ठाका साथ बनाएको त्यो संस्था अहिले पाखण्डी व्यवहार देखाउनेहरुको हातमा पुगेको छ, अब त्यसको के हुने हो, राम्ररी हेर्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो, ‘त्यसका पदाधिकारीले दिएका अभिव्यक्ति, उनीहरुको प्रस्तुतीलाई हेर्दा कसरी अघि जान्छ, हेर्नुपर्ने अवस्था छ, हुन त पार्टीले बनाएको संस्था हो, तर कतिपयले ठगी खाने भाँडोजस्तो बनाएका छन् ।’

प्रधानमन्त्री ओलीले फरक प्रसंगमा पार्टीभित्र अराजकता बढेको भन्दै ज्ञान र गुण बढाउन नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ । पार्टीले कुनै कार्यक्रम आयोजना गर्दा कार्यकर्ताहरु छाडा हुने गरेको उहाँको अनुभव छ । ‘कार्यक्रम गर्दा मन लाग्यो आयो, मन लाग्यो गयो, स्वस्थानी ब्रतको कथावाचनमा समेत नसकिदासम्म नमस्ते (दुई हात जोड्दै) गरेर बसेका हुन्छन्, तर हाम्रोमा कोही यता हुन्छ, कोही उता, हाहा हुहु गरिरहेका हुन्छन्, यस्तो हुन्छ निष्ठा ?’, उहाँले सोध्नुभयो । 

पार्टीका कार्यक्रमहरूमा अनुशासनको कमी, सदस्यता शुल्क तिर्न आनाकानी गर्ने प्रवृत्ति र जिम्मेवारीप्रतिको उदासीनतालाई लिएर चर्को आलोचना गर्नुभएको छ । पार्टीलाई निष्ठाका साथ अगाडि बढाउन सबैले व्यवहार, अनुशासन र योगदानमा सुधार गर्न आवश्यक रहेको उहाँको निश्कर्ष छ । 

टिप्पणीहरू