नाउपाको अध्यक्षमा ‘बुहारी’ नै कायम

नाउपाको अध्यक्षमा ‘बुहारी’ नै कायम

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै कायम भएकी छिन् । संरक्षक रेशमलाल चौधरी समूहको भेलाले लालवीर चौधरीलाई अध्यक्ष चयन गरेकोमा निर्वाचन आयोगले त्यसलाई अवैधानिक ठहर गरेको हो । 

पोखराको लिची बगैँचा जग्गा प्रकरणमा मुछिएकी रञ्जिताले आफूखुशी कार्यवाहक तोकेको र स्पष्टीकरणबाट भागेको भन्दै त्यो समूहले साउन १५ गते मध्य बानेश्वरमा भेला गरेर लालवीरलाई अध्यक्ष चयन गरेको थियो । लगत्तै विवरण अद्यावधिकका लागि आयोगमा निवेदन दिइएको थियो । 

तर आयोगले राजनीतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार रेशम समूहको भेला नै वैधानिक नभएको ठहर गर्दै पुरानै अध्यक्षमा कायम राख्ने निर्णय गरेको हो । 

यसअघि आयोगले लालवीर र रञ्जितालाई छुट्टाछुट्टै पत्र काट्दा दुवैले आफूलाई अध्यक्ष दावी गर्दै लिखित जवाफ पठाएका थिए । लालवीर रेशमका बाबु हुन्, भने रञ्जिता पत्नी हुन् ।

टिप्पणीहरू