राप्रपाको युवा संगठनमा समानान्तर कमिटी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भात्री संस्था राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन फूटको संघारमा पुगेको छ । संस्थापन इतर खेमा समर्थक युवाहरूले समानान्तर कमिटी घोषणा गरेपछि सो संगठन विभाजनमा गएको हो ।
आज काठमाडौँमा युवा संगठनको जिल्ला अधिवेशन आयोजना गरिएको थियो । अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन प्रमुख अतिथि रहेको अधिवेशन उद्धघाटन सत्रमा दुई पक्षका युवाहरु कुटाकुटमा उत्रिएपछि अधिवेशन भाँडियो ।
लफडापछि अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित भएको घोषणा गरेर बाहिरिए । तर, महामन्त्री धवलधमशेर राणा पक्षले त्यसलाई स्वीकार गरेन । र सो खेमाका युवा नेता ज्योति लामाले समानान्तर कमिटी घोषणा गरे । उनले समितिमा रहने दुई दर्जन सदस्यको नाम समेत सार्वजनिक गरेका थिए ।
कार्यक्रम शुरु हुनुअघि नै दुई समूहबीच हात हालाहाल हुँदा प्रहरी लगाउनु परेको थियो । त्यसपछि बिथोलिएको अधिवेशन कहिले हुने टुंगो नलाग्दै असन्तुष्ट खेमाले कमिटी घोषणा गरेपछि केही समययता राप्रपामा चर्किएको विवादले उग्ररुप लिने देखिएको छ ।
टिप्पणीहरू