चौधरीका लागि ब्याज, बिगो र जरिवानासहित कैद सजाय माग

चौधरीका लागि ब्याज, बिगो र जरिवानासहित कैद सजाय माग

नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीको सिजी ग्रुप भुक्तानी नपाएको भन्दै अदालतको ढोका ढक्ढकाउन पुगेको छ । सिजी ईम्पेक्स प्रालिको तर्फबाट अख्तियारप्राप्त रविराज ढकालले स्टार वल्र्डकी सञ्चालिका राखी अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा बैंकिङ्ग कसुरको मुद्दा दायर गरेका हुन् । 

गत बुधबार दायर गरिएको मुद्दामा विपक्षीलाई ‘बैकिङ्ग कसुर तथा सजाय ऐन, २०६४’ को दफा (३) (क) मा उल्लेखित रकम मौज्दात नभई चेक जारी गर्न नहुने व्यवस्थाअनुसार कारबाहीको माग गरिएको छ । भारतको बिहार घर भई मोरङको विराटनगरमा फर्म सञ्चालन गरेर बसेकी राखीले सिजी ईम्पेक्सबाट ईलेक्ट्रोनिक्स सामान खरिद गरेको बताइन्छ ।  

सो सामानको भुक्तानीका लागि उनले साबिक बैंक अफ काठमाण्डूको खाता नम्बर ०१०८००००१४३९५२४ (हालको ग्लोबल आईएमई बैंक लिमिटेडको खाता नम्बर ३०८०१०१००००५९४) को ००५२०८४७२४ नम्बरको चेक दिएकी थिइन् । २०८० फागुन २० गते १८ लाख रुपैयाँ भुक्तानी पाउनेगरी चेक जारी भएकोमा नसाटिएपछि ढकाल प्रहरीकहाँ पुगेका हुन् । 

प्रहरीको सिफारिसबमोजिम जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले अदालतमा मुद्दा दायर गरेको छ । मुद्दामा विपक्षीलाई १८ लाख रुपैयाँ बिगो कायम गरी चेक काटेको मितिबाट कानुनबमोजिम ब्याज, बिगोको पाँच प्रतिशत जरिवाना र कैद सजाय हुनुपर्ने मागदाबी लिइएको छ ।

टिप्पणीहरू