अघिल्लो दिन अतिथिको फोटो टाँसी, दोस्रो दिन बाटो छेकी

अघिल्लो दिन अतिथिको फोटो टाँसी, दोस्रो दिन बाटो छेकी

सुनकोसी गाउँपालिकामा गरिएको सरकारी आयोजनाको उद्घाटन शैलीले गम्भीर प्रश्न उठाएको छ । पहिलो दिन पुल उद्घाटनमा ब्यानरमै अतिथिको फोटो टाँसिएको थियो भने दोस्रो दिन खानेपानी आयोजनाको उद्घाटन सडक छेकेर सम्पन्न गरिएपछि उक्त दृश्य देख्ने सबै अचम्भित बनेका हुन् ।

सुनकोसी गाउँपालिका–५ मा अवस्थित सातबिसे डिही भोटेखोला पुल उद्घाटन कार्यक्रमको ब्यानरमा प्रमुख अतिथि सांसद राजन दाहालको ठूलो फोटो टाँसिएको थियो । दाहाल सिन्धुली क्षेत्र नम्बर २ का सांसद मात्र नभई गाउँपालिका अध्यक्ष दीपा दाहालका पति पनि हुन् । सामान्यतया सरकारी संरचनाको उद्घाटन कार्यक्रममा अतिथिको फोटो ब्यानरमा टाँस्ने प्रचलन छैन ।

पुल उद्घाटन भएको भोलिपल्ट बन्दीपुर दोस्रो खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन पनि गरियो । त्यहाँ बाटो नै छेकेर मञ्च बनाइएको थियो । खानेपानी आयोजनाको प्रमुख अतिथि पनि उनै सांसद राजन थिए।

स्थानीयवासीले उद्घाटन कार्यक्रमको शैलीलाई अनावश्यक प्रदर्शनमूलक भन्दै आलोचना गरेका छन् । उनीहरूको भनाइमा सरकारी संरचना सर्वसाधारणको सुविधा र सेवाका लागि बनाइने भएकाले उद्घाटनलाई औपचारिकतामा सीमित राखिनु पर्ने हो । तर व्यक्तिगत प्रचारमा भएको रणनीतिले गम्भीर प्रश्न उठाइदिएको छ ।

टिप्पणीहरू