भनियो बालुवाटार, भेटियो सिंहदरबार

भनियो बालुवाटार, भेटियो सिंहदरबार

भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोपत्र हस्तान्तरण गरेका छन् । वायुसेनाको विशेष विमानको उडान नम्बर आइएफसी ३१ मा बिहान ९ बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेपछि होटल द्वारिका पुगेका उनी प्रधानमन्त्री भेट्न साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन् ।  

प्रधानमन्त्री सोही भेटको समय पारेर ११ बजेर २० मीनेटमा बालुवाटारबाट निस्कनुभएको थियो । यसअघि उक्त भेटघाट बालुवाटारमा हुने बताइएको थियो ।

साथमा नेपालका लागि राजदूत नवीन श्रीवास्तवसँगै भारतीय विदेश मन्त्रालयको उत्तर मामिला प्रमुख तथा सहसचिव मुनु महावार, अतिरिक्ति सचिव तुषारअन्शु शर्मा र निर्देशक तथा सचिवका पिए प्रियंन्का सोहनी पनि भेटघाटमा संलग्न थिए । मिश्री यसअघि अघिल्लो वर्ष साउन २७ गते पनि भारतीय वायुसेनाको आज आएकै विमानमा काठमाडौं आएर भोलिपल्ट नयाँ दिल्ली फर्केका थिए ।

बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बसेका मिश्र नेतृत्वको टोलीले आजै क्रमशः राष्ट्र्रपति रामचन्द्र पौडेल, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटघाट गर्दैछ । साँझ रात्रिभोज राखिएको छ भने भोलि बिहान पशुपतिनाथको दर्शनपछि नयाँ दिल्ली फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू