माओवादी संसदीय दलको कार्यालयमा विपक्षीहरु जुट्दै, शेखर पनि विराेधमा

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले विपक्षी दलहरूको बैठक बोलाएको छ । विपक्षी दलका सांसदहरूलाई बैठकका लागि सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा डाकिएको छ ।

सत्ता गठबन्धनमा रहेका एमाले र काँग्रेसले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने गृहकार्य थालेसँगै विपक्षीहरू पनि छलफलमा जुटेका हुन् ।

यता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको उक्त कदमलाई ‘अर्को ठूलो गल्ती’ भन्नुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले ख्यातिप्राप्त महिलाविरुद्ध सत्ता गठबन्धन एकजुट हुनु अस्वाभाविक भएको बताउनुभयो ।

‘उपसभामुख हटाउने योजना उहाँहरूको पहिल्यैदेखिको हो, तर त्यो गलत गर्दै हुनुहुन्छ, यो सरकार बनेदेखि नै गल्ती गरिरहनुभएको छ,’ उहाँले संक्षिप्तमा भन्नुभयो, ‘एउटी महिला, आदिवासी, जनजाति महिला, सामाजिक सेवा गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत बिलकुल गलत छ, उहाँहरूले अर्को ठूलो गल्ती गर्दै हुनुहुन्छ, हामी विरोध गर्छौँ ।’

सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पनि उपसभामुख हटाउने विषयको विरोध गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेले सबै सांसदहरूलाई हस्ताक्षर गर्न रुलिङ गरे पनि कोइराला समूहका सांसदहरु भने सिंहदरबार नै नगएको उनीहरुको दाबी छ ।

टिप्पणीहरू