आत्ममोहका मोहनी जाल र सत्ताधीशहरु
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण नेपाली सेनाको जहाज चढेर हुँदैछ । उनी पहिले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलायन्सभन्दा हिमालयन एयरवेजको जहाजलाई प्राथमिकता दिन्थे। संकेतले धेरै सन्देश दिन्छ ।
हुकुमका आदेशले संसार हाँक्न सकिन्छ भन्ने सोच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वभाव थियो—सक्नेलाई ङ्याँक्ने, नसक्नेसँग लत्रने । चीन र रुसले उनका कुरा हावामा उडाइदिने—यही नै उनको शैली। एकातर्फ गाजामा इजरायली नरसंहारलाई समर्थन गर्ने, हतियार दिने तर अर्कातर्फ शान्तिको नोबेल पुरस्कारमा दाबी गर्ने। यस्तो प्रवृत्ति संसारका धेरै शासकमा देखिन्छ।
सत्य सार्वभौम हुँदैन । अवस्था र हितअनुसार शब्दको मर्म फेरिन्छ । डोनाल्ड ट्रम्प अमेरिकाका भए, तर हाम्रा शासकहरू पनि ‘ट्रम्प’ बन्ने रोगबाट अछुतो भने छैनन् । हाम्रा शासक पनि कहिले राष्ट्रवादका नारा लगाएर प्रभूसँग लत्रिन्छन्, कहिले अभिजात्य दम्भ प्रदर्शन गर्दै घण्टा बजाउन मन्दिर पुग्छन्।
अहंकारको मौलिक चरित्र भनेको भएको कुरा लुकाउने र नभएको प्रदर्शन गर्ने हो। डिजिटल युगमा सबै विगत अर्काइभमा सुरक्षित हुन्छन्, जसलाई कृत्रिम बौद्धिकताले तुरुन्तै प्रस्ट्याइदिन्छ । अब जन्मपत्री च्यातेर वा पोलिदिएर पनि सत्य लुकाउन सकिन्न।
गफ र सत्यबीचको फरक बुझ्न अब सजिलो छ। घमण्ड जटिल र बहुआयामिक हुन्छ। यो आत्मपहिचान, आत्मसम्मान र बाह्य अन्तरक्रियासँग गाँसिएको हुन्छ। सत्ता अल्पायु हुन्छ, तर इतिहास दीर्घायु। इतिहासले गफ चुट्ने शक्तिशालीको पनि हिसाब राख्छ। शक्ति चढेपछि मानिस उच्चताबोधमा फस्छ र आफूलाई विशेष ठान्छ। यसरी उसले आफ्नो मूल्य र महत्वलाई वास्तविक रूपमा नबुझी आत्ममोहमा हराउँछ। आत्मसम्मान जोगाउन शंकालु मन सर्वज्ञताको आवरण ओढ्छ, तर संसारमा कोही पनि सर्वज्ञ हुँदैन। मानव स्वभावले अरूसँग तुलना गर्दै आफूलाई श्रेष्ठ देखाउने दम्भ सिर्जना गर्छ।
बाल्यकालमा झेलेको गरिबी, अभाव, तनाव वा अपमान मस्तिष्कमा थन्किएका हुन्छन्। मौका मिल्नेबित्तिकै ती अनुभव उच्चताबोधको रूपमा देखा पर्छन्। प्रतिक्रिया लिएर भूमिकामा व्यत्तिन्छन्। हिजोका साखुल्ले मित्र जानी–दुश्मनमा फेरिन्छन्। यसरी हीनताबोध उच्चताबोधमा परिणत भएर पाखण्ड र दम्भ असुरक्षित भावनालाई लुकाउने संयन्त्र बन्न पुग्छ।
समाजले पनि बलियो, आत्मविश्वासी र निर्णायक शासक अपेक्षा गर्ने भएकाले शासकहरूले आफ्नो आन्तरिक डर लुकाउन दम्भ देखाउँछन्। उनीहरूको आत्मपहिचान पद र शक्तिसँग गाँसिएको हुन्छ। पद गुमेपछि सबै सुरक्षा कवच हराउँछन्। शक्ति खतरामा परेपछि असुरक्षा बढ्छ, जसलाई आत्ममोहले ढाक्
जब व्यक्ति आफूलाई कमजोर वा अपर्याप्त ठान्छ, ऊ घमण्डी बनेर कमजोरी ढाकछोप गर्न खोज्छ। व्यक्तिगत उपलब्धि र आत्मप्रस्तुतिलाई शक्ति प्रदर्शनमा देखाउँछ। यस्तो व्यवहार विशेषगरी अनिश्चितता वा तनावको समयमा सुरक्षाकवच ठानिन्छ। मस्तिष्कको प्रिफ्रन्टल कोर्टेक्स आत्म–नियन्त्रण र आत्म–पहिचानसँग सम्बन्धित हुन्छ। यसमा असन्तुलन आउँदा घमण्डी व्यवहार बढ्छ। घमण्ड व्यक्तिगत, सामाजिक र जैविक कारणको संयोजनबाट विकास हुन्छ। आत्म–जागरूकता र आत्म–विश्लेषणले मात्र यसलाई सन्तुलनमा राख्न सकिन्छ।
तर शासक वा शक्तिशाली व्यक्तिहरू आत्मसमीक्षा कहिल्यै गर्दैनन्। प्रायः घमण्डलाई डर लुकाउने संयन्त्रको रूपमा प्रयोग गर्छन्। शक्ति, पद वा प्रभाव गुम्ने डर सधैं शासकसँग रहन्छ। आफूलाई सर्वश्रेष्ठ देखाउन वा अरूलाई तुच्छ ठान्न उनीहरू निरन्तर प्रयास गर्छन्। विधिमा टेक्दै विधि भत्काउँदै, कानुन र नियमलाई आफ्नै हितअनुसार तोडमोड गर्छन्। आलोचना वा असफलताबाट कमजोर देखिने डरले उनीहरूलाई अजेय देखिन बाध्य बनाउँछ।
समाजले पनि बलियो, आत्मविश्वासी र निर्णायक शासक अपेक्षा गर्ने भएकाले शासकहरूले आफ्नो आन्तरिक डर लुकाउन दम्भ देखाउँछन्। उनीहरूको आत्मपहिचान पद र शक्तिसँग गाँसिएको हुन्छ। पद गुमेपछि सबै सुरक्षा कवच हराउँछन्। शक्ति खतरामा परेपछि असुरक्षा बढ्छ, जसलाई आत्ममोहले ढाक्छ।
फ्रायडका अनुसार, अहंकार मनोवैज्ञानिक तनावबाट जोगाउने सुरक्षा संयन्त्र हो। त्यसैले शासकहरूले आत्म–महिमामण्डन वा अरूलाई तल देखाउने प्रवृत्तिबाट आफ्नो पराजयको डर लुकाउँछन्। इतिहासमा निरंकुश शासकहरूले भव्यता, आडम्बर र सर्वज्ञानी छवि प्रदर्शन गरेर कमजोरी ढाकेको देखिन्छ। आज पनि सार्वजनिक मञ्चमा अति आत्मविश्वासी देखिनु त्यही डर लुकाउने प्रयास मात्रै हो।
हीनताबोध र उच्चताबोधः सिक्काका दुई पाटा
मनोविज्ञान अनुसार, हीनताबोध र उच्चताबोध दुई विपरीत देखिए पनि एक–अर्कासँग गहिरो सम्बन्धित छन्। हीनताबोध भएको व्यक्तिले आफ्ना कमजोरी ढाक्न अहंकारी व्यवहार गर्छ। उसले आफ्नो उपलब्धि बढाइचढाइ गरेर वा अरूलाई तुच्छ देखाएर आत्ममोहमा बाँच्छ। अल्फ्रेड एडलरले यसलाई ‘हीनताबोधको क्षतिपूर्ति’ भनेका छन्। उच्चताबोध भएको व्यक्तिले आफूलाई अरूभन्दा माथि देख्छ। तर प्रायः यो हीनताबोधकै प्रतिक्रियामा विकसित भएको हुन्छ। यसैले, एक सिक्काका दुई पाटा जस्तै हीनताबोध र उच्चताबोध दुवै दम्भी व्यवहारमा परिणत हुन्छन्।
उदाहरणका लागि, जो बौद्धिक रूपमा कमजोर महशुस गर्छ, उसले अरूलाई तल देखाउने वा आफूलाई अति बुद्धिमान देखाउने प्रवृत्ति देखाउँछ। यसरी इगोले आत्म–पहिचान र आत्म–सम्मानलाई जोगाउन अस्वस्थ तरिकाले भूमिका खेल्छ। समाजमा आफूलाई स्थापित गर्न वा सम्मान पाउन मानिसले आत्मप्रशंसा वा अरूलाई कम आँक्ने प्रवृत्ति देखाउँछन्। तर यो व्यवहार घमण्ड र दम्भकै उपज हो।
बिटमार्दै गर्दा
घमण्ड व्यक्तिको असुरक्षा, डर र कमजोरी ढाक्ने मनोवैज्ञानिक संयन्त्र हो। शासक र शक्तिशालीहरूमा यो विशेष रूपमा देखिन्छ, किनभने उनीहरूलाई सत्ता, पद र छविको निरन्तर भय हुन्छ। आत्मजागरूकता र भावनात्मक बुद्धिमत्ताले मात्र यस्तो घमण्डलाई कम गर्न सक्छ, जसले स्वस्थ नेतृत्व र सम्बन्धलाई प्रोत्साहन दिन्छ। तर प्रश्न उठ्छ-आज हाम्रा नेताहरू वा दलपतिहरूमा यस्ता प्रवृत्ति कति गहिरो छ? र हामी स्वयं पनि तिनका पछुवा भएर घमण्डी संस्कृतिको वाहक त भइसकेका छैनौँ? आत्मसमीक्षा गर्ने समय यही हो।
टिप्पणीहरू