अध्यक्षको बचाउ गर्दै विज्ञप्ति
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी,नेपालले गौर हत्याकाण्डमा अध्यक्ष उपेन्द्र यादवलाई जोडिएकोमा आपत्ति जनाएको छ ।
प्रवक्ता मनिष सुमनले आज विज्ञप्ति सार्वजनिक गर्दै सर्वोच्च अदालतको आदेशको पूर्णपाठ नआउँदै अध्यक्ष यादवलाई जोडेर प्रकाशित भएका समाचारप्रति विश्वास नगर्न र भ्रममा नपर्न आग्रह गरेका छन् । सर्वोच्चले रौतहट हत्याकाण्डको अनुसन्धन अघि बढाउन प्रहरीलाई परमादेश जारी गरेको छ ।
सोमबार सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डे र तिलप्रसाद श्रेष्ठको इजलासले ०६३ चैत ७ गते २७ जनाको ज्यान जानेगरी रौतहटको गौरमा भएको घटनाको निष्पक्ष छानविन र अनुसन्धान हुनुपर्ने मागसहित त्रिभुवन साहले दिएको निवेदन दर्ता गर्न र अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो । योसँगै १९ वर्ष वर्ष पुरानो मुद्दामा उपेन्द्र तानिएका छन् ।
उनीमाथि अनुसन्धानको बाटो खुलेको व्यहोराका समाचार प्रकाशित भएसँगै हिजो सिंहदरवार अगाडि मसाल जुलुस निकालेको जसपाले आज विज्ञप्तिमार्फत विरोध जनाएको हो ।

‘२०६३ सालको त्यो दुखद घटनाको सम्बन्धमा तत्कालीन सरकारले नै उच्चस्तरीय न्यायिक जाँचबुझ समिति गठन गरी सत्यतथ्य अभिलेखीकरण गरी सकेको, संवैधानिक निकायको रूपमा रहेको राष्ट्रिय मानव अधिकार आयोगका साथै नेपालस्थित संयुक्त राष्ट्रसंघ समेतले तत्कालकै अवस्थामा घटना वारदातको सम्बन्धमा आ-आफ्नो तर्फबाट स्वतन्त्र अनुसन्धान गरी सत्यतथ्य सहितको प्रतिवेदनसमेत सार्वजनिक गरी सकेको, यो राजनीतिक विषयमा राजनीतिक शक्तिहरूबाट नै समाधानको बाटो खोज्नुपर्ने हो’, विज्ञप्तिमा भनिएको छ, ‘आम सञ्चार माध्यममा भनिएअनुसार अदालतबाट जारी भएको परमादेशअनुसार पुनः निष्पक्ष, विश्वसनीय एंव वस्तुपरक रुपमा अनुसन्धान हुने भएमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको तर्फ आफ्नो अधिकार प्राप्तिको लागि सधैँ संघर्षरत रहँदै आउनुभएका सम्पूर्ण मधेशी अधिकारकर्मी, पार्टीपंक्ति, नेपाली दाजुभाई तथा दिदीबहिनी, दलसँग आवद्ध सबै कार्यकर्ता र शुभेच्छुकहरुमा अनुरोध गर्दछौँ ।’
मधेश आन्दोलनलाई कमजोर पार्ने र पार्टी अध्यक्ष यादवलाई राजनीतिक प्रतिशोधको निशाना बनाउनेगरी अतिरञ्जित समाचार प्रकाशन नगर्न जसपाले आग्रह गरेको छ ।
टिप्पणीहरू