हिजो अखिलले नाराबाजी गरेको ठाउँमा आज क्रान्तिकारी
नेपाललाई नसोधी चीन र भारतले लिपुलेक नाका प्रयोगबारे गरेको सम्झौताविरुद्ध माओवादी केन्द्र निकट अखिल (क्रान्तिका) सडकमा ओर्लिएको छ ।
क्रान्तिकारीले आज अपराह्न भारतीय राजदूतावास अगाडि प्रदर्शन गरेको हो । नेपाली भूमि लिपुलेकमाथि अतिक्रमण गर्ने भारतीय र चिनियाँ हस्तक्षेपकारी निर्णयको विरुद्ध प्रदर्शन आयोजना गरेको सो संगठनले जानकारी दिएको छ ।
लैनचौरस्थित भारतीय दूतावास जाने बाटो अगाडि खानि तथा भूगर्भ विभाग गेट छेउमा उभिएर क्रान्तिकारीका विद्यार्थीहरूले चर्को नाराबाजी गरे । उनीहरुले 'लिपुलेक-लिम्पियाधुरा हाम्रो भूमि हो', 'गो ब्याक इन्डिया, गो ब्याक चाइना', 'राष्ट्रियताको रक्षा गरौं', लेखिएका प्लेकार्ड देखाएका छन् ।
प्रदर्शनमा क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सन्दीप पुन, विराज थापा, महासचिव रोशन थापा मगर ,उपाध्यक्ष उमेश ,उपमहासचिव रामचन्द्र भट्टलगायत उपस्थित छन् ।
लिपुलेक नेपाल, चीन र भारतको त्रिदेशीय विन्दु हो । तर, चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशले उक्त नाकालाई प्रयोग गरी व्यापार विस्तार गर्ने सहमति गरेका छन् ।
यसअघि पनि दुवै देशले यस्तो सहमति गर्दा नेपालले विरोध जनाएको थियो । यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको बेइजिङ र दिल्ली भ्रमणको पूर्वसन्ध्यामा भएको यो सहमतिको चर्को आलोचना भैरहेको छ ।
हिजो एमाले अखिलले पनि भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको थियो ।
टिप्पणीहरू