भियतनामी उपराष्ट्रपतिसङ्ग को-को आए ?
समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीन दिने औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाडौं आइपुग्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति सुआनलाई परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा र संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गर्नुभयो । उपराष्ट्रपतिको सम्मानमा नेपाली सेनाले गार्ड अफ अनर सलामी दिएको थियो ।
उपराष्ट्रपतिसँग परराष्ट्रमन्त्री राणाले शिष्टाचार भेटवार्ता गरेपछि औपचारिक भ्रमण शुरु भएको छ । भियतनामबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
पर्सि फर्कने कार्यक्रम छ । त्यसअघि भोलि उपराष्ट्रपति यादवसँग द्विपक्षीय वार्ता गरेपछि उपराष्ट्रपति सुआनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।
यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठ हो । काठमाडौं उपत्यकाका विभिन्न सांस्कृतिक तथा पूरातात्विक महत्वका स्थलको घुमघाम गर्ने भियतनामी उच्चस्तरीय प्रतिनिधिमण्डलमा २४ जना छन् । जसमा सहायक परराष्ट्रमन्त्री,अर्थ सहायक मन्त्री,संस्कृति,खेलकुद तथा पर्यटन सहायक मन्त्री,र राष्ट्रपतिको कार्यालयका उपमहानिर्देशक रहेको बुझिएको छ ।
त्यस्तै भियतनाम–नेपाल मैत्री संघका अध्यक्ष,प्रोटोकल विभागका उपमहानिर्देशक,उपराष्ट्रपतिका सुरक्षा अधिकृत,दुई जना सञ्चारकर्मी,उपराष्ट्रपतिका सचिव, राष्ट्रपति कार्यालयका वाह्य सम्बन्ध उपमहानिर्देशक र प्रशासन तथा वित्त विभागका उपमहानिर्देशक पनि काठमाडौं आएका छन् ।
भियतनामकी परराष्ट्र मन्त्रालयको दक्षिणपूर्व एशिया तथा दक्षिण एशिया उपमहानिर्देशक, परराष्ट्रकै सूचना विभागका उपमहानिर्देशक, परराष्ट्रका सचिव,राष्ट्रपति कार्यालयको वाह्य सम्बन्ध हेर्ने वरिष्ठ अधिकृत, प्रशासन तथा वित्त विभाग हेर्ने प्रमुख अधिकृत पनि टोलीमा छन् । अन्य सदस्यमा राष्ट्रपति कार्यालयका वाह्य सम्बन्ध विभागका अधिकृत,लेखापाल,प्रशासन विभागका अधिकृत,दक्षिणपूर्व एशिया तथा दक्षिण एशिया विभाग हेर्ने अधिकृत,प्रोटोकल अफिसर, परराष्ट्र मन्त्रालयकी दोभाषे अधिकृत,उपराष्ट्रपतिका निजी चिकित्सक,नयाँ दिल्लीस्थित भियतनामी दूतावासकी कर्मचारी पनि आएको बुझिएको छ ।

टिप्पणीहरू