एमसीसीको कुराले सुरेन्द्र पाण्डे र विप्लवबीच घाेचपेच

एमसीसीको कुराले सुरेन्द्र पाण्डे र विप्लवबीच घाेचपेच

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच एक सार्वजनिक कार्यक्रममा घोचपेच चलेको छ। 

काठमाडौँमा आज आयोजित एक अन्तर्क्रिया कार्यक्रममा वक्ताका रूपमा उपस्थित दुई वामपन्थी नेता अमेरिकी परियोजना एमसीसीको विषयलाई लिएर आमनेसामने भएका हुन्। विप्लवले एमसीसीको खरो विरोध गर्दा त्यहि मन्चबाट पाण्डेले भने घुमाउरो समर्थन गरे ।  

नेपालको संसदले एमसीसी पास गरेको भए पनि जनताबाट अनुमोदन नभएको जिकिर विप्लवले गरेका छन् । ‘एमसीसीको सन्दर्भमा नेपाल सरकार अमेरिकी उपनिवेशवादी दबाबसामु टिक्न सकेन, संसदबाट अनुमोदन गरेरै छाड्यो’, कार्यक्रममा उनले भनेका थिए, ‘स्मरणीय कुरा के छ भने भित्र संसदमा बहस हुँदै गर्दा बाहिर भिडन्त भइरहेको थियो, संसद र सरकारले पास गरेको भए पनि एमसीसीलाई जनताले मान्यता दिएका थिएनन् र छैनन्।’ 

एमाले उपाध्यक्ष पाण्डे भने त्यसमा सहमत भएनन् । एमसीसी भन्नेबित्तिकै डराइहाल्नुपर्ने अवस्था नरहेको प्रष्ट पार्दै उनले फरक विचार राखे । 

‘नेपालमा एमसीसी आउँदैमा, त्यसको कार्यालय बस्दैमा अमेरिका सेना आएर अड्डा जमाउछ भन्नेमा कुनै तात्विक कारण नै छैन’, विप्लवको कुरामा पाण्डेले खण्डन गरे, ‘त्यसो हुने भए त यतिबेलासम्म क्लोनाइज भइसक्नुपर्ने, वनको बाघले भन्दा पनि मनको बाघले खाइरहेको स्थित म देख्छु ।’

नेपाली कम्युनिष्टहरूमा आफ्नो शक्तिबारे ठूलो भ्रम रहेको पनि पाण्डेले बताए । विप्लवतिर हेर्दै भने, ‘नेपालका कम्युनिष्टहरुमा एउटा अर्को भ्रम के छ भने चीनलाई अमेरिकाले घेरा हाल्दैछ, हामीले जोगाइदिनुपर्छ, के हामीले जोगाएपछि मात्रै चीन जोगिन्छ ? चीन आफ्नै शक्तिले जोगिएन भने हामीले जोगाएर जोगिने हो र ?’

पूर्वमन्त्री पाण्डेले तत्कालीन अमेरिकी राजदूतसँग भएको एउटा भेटवार्ता स्मरण गर्दै विश्वलाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा जोड दिए । 

‘मेरो कुराकानी भएको थियो, होटल मेरियटमा । त्यतिबेला कुराकानी हुँदा उनले तपाईहरु जोसँग पैसा लिनुस्, त्यसको मतलव छैन, तर एमसीसीको विरोध नगर्नुस्, तपाईहरु बिआरई लिनुस्, अर्को लिनुस्, अर्को लिनुस् हामीलाई मतलव छैन भने’, उनले सुनाए, ‘अब हामीले पनि विश्व क्रान्ति र विकासलाई फराकिलो लाइटबाट हेर्नुपर्छ, सोच्नुपर्छ ।’

 

टिप्पणीहरू