प्रभाकरलाई ‘अटोफोबिया’ !
लोकतान्त्रिक दलहरूले असहमति र फरक मत व्यवस्थापनका लागि समयानुकूल विधि र प्रक्रिया बनाएका हुन्छन्, जसले नेता र कार्यकर्ता दुवैलाई बराबरी लागू हुन्छ। तर, नेपाली कम्युनिस्ट आन्दोलनको लामो यात्रापछि बनेको नेकपा (माओवादी केन्द्र)भित्र भने पछिल्लो समय त्यही विधि र पद्धतिको उल्लङ्घन भइरहेको देखिन्छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’बीच वाकयुद्ध चलेको धेरै भइसकेको छ। जनयुद्धदेखि शान्ति प्रक्रियासम्म र नेकपा हुँदै पुनः माओवादीमा फर्किँदासम्म जनार्दनले प्रचण्डसँग सयौँ असहमति राखेका छन्। तर ती असहमतिहरू पार्टीभित्रै सीमित हुनुभन्दा अगाडि सार्वजनिक मञ्चमा देखिन थालेको भने पछिल्ला दुई वर्षयता मात्र हो।
अटोफोबिया र आलोचना
गत बुधबार प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा भने, ‘देशको जिम्मेवारी मेरै काँधमा जस्तो लाग्छ, कहिले ढल्छ कि जस्तो पनि लाग्छ ।’ त्यसको केही दिनमै जनार्दनले सार्वजनिक मञ्चबाट जवाफ दिए, ‘शेषनागले पृथ्वी बोकेको दन्त्यकथा मात्र हो । पृथ्वी ढल्दैन, चल्छ ।’
प्रचण्डको अभिव्यक्तिलाई प्रतिपक्षप्रति गरिएको चेतावनी मानिएको थियो। तर, त्यसलाई अस्वीकार गर्दै जनार्दनले प्रत्यक्ष अध्यक्षलाई नै चुनौती दिएको भन्ने बुझेपछि कार्यकर्ताले अस्वाभाविक मानेका हुन् । यसअघि पनि उनले संविधान संशोधन, अर्थतन्त्र पुनःसंरचना र पार्टी पुनर्गठनको माग सार्वजनिक रूपमा उठाइसकेका छन्।
प्रचण्डले फर्काएको जवाफमा भनिएको छ, ‘केही साथीहरू सिंगौरी खेल्न चाहेजस्तो देखिन्छ, खेल्न दिन्छु, तर कति खेल्ने?’
नगएको पुरानो बानी
पार्टीका एक स्थायी समिति सदस्यका अनुसार जनार्दनको यो प्रवृत्ति नयाँ होइन। जनयुद्धकै समयमा पनि उनले हेडक्वार्टरसँग सल्लाह नगरी आफ्नै शैलीमा कारबाही चलाउने गरेका थिए। प्रचण्डले पटक–पटक स्पष्टीकरण माग्दा पनि उनले बेवास्ता गर्ने बानी त्यतिबेलै देखिएको थियो।
हालैका बैठकहरूमा समेत उनले पार्टीभित्रको कुरा बाहिर पुर्याएको भन्दै आत्मालोचना गर्न सुझाव दिइएको थियो। तर, उनले ‘प्रचण्डले आत्मालोचना नगरेसम्म म पनि गर्दिनँ’ भन्दै बैठक बहिष्कारसमेत गरेका थिए।
शक्ति–राजनीतिक हिसाबकिताब
गृहजिल्ला रुकुम पश्चिममा गत निर्वाचनमा उनले प्रतिनिधिसभाको सदस्य जिते पनि आफ्नै पालिकामा माओवादी उम्मेदवार पराजित हुनु उनका लागि रणनीतिक असफलता मानिएको छ। यसले पनि उनको लोकप्रियतामा प्रश्न उठाएको छ ।
त्यसैगरी, नेत्रविक्रम चन्द ‘विप्लव’सँग उनको नजिक सम्बन्धले सम्भावित माओवादी एकतालाई असर गर्न सक्छ भन्ने चिन्ता पार्टी नेतृत्वमा बढेको छ। केही नेताहरूले जनार्दन–विप्लवबीच अदृश्य सहकार्य सुरु भएको पनि दाबी गरेका छन्।
‘पार्टी फुटाउने ल्याकत छैन’
राजनीतिक विश्लेषक कृष्ण पोखरेलका अनुसार प्रचण्ड–जनार्दनको टकरावले माओवादीलाई फाइदा छैन, बरु एमालेलाई लाभ पुग्न सक्छ। उनका अनुसार, ‘जनार्दन असहमतिहरू संकलन गर्दै शक्ति आर्जन गर्ने अभ्यासमा छन् । तर तत्काल पार्टी फुटाउने ल्याकत छैन ।’
उनका अनुसार वैद्य वा बाबुरामको विद्रोह विचारका आधारमा भएको थियो, तर जनार्दनको असहमति शक्ति–राजनीतिक अभ्यास मात्र हो।
निष्कर्ष
पार्टी कमजोर भएको कारण प्रचण्डमाथि दोषारोपण गर्ने जनार्दन स्वयम् पनि निर्दोष छैनन् भन्ने कार्यकर्ताको बुझाइ छ। नेतृत्व तहमा बसेर सत्ताको स्वाद चाखिसकेका उनले पार्टी बिग्रनुमा आफ्नै जिम्मेवारीबारे आत्मालोचना गर्ने कि नगर्ने भन्ने प्रश्न कार्यकर्ताले उनीसँगै राखेका छन् ।
टिप्पणीहरू