विद्याको भेटघाट झन व्यापक

विद्याको भेटघाट झन व्यापक

अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रतिवन्ध लगाए पनि एमाले नछोड्ने अठोट गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक भेटघाट बढाउनुभएको छ । 

विराटनगर जानुअघि एमालेको दोस्रो, तेस्रो तहका नेतालाई भंगालस्थित निवासमै बोलाएर लगातार छलफल गरेकी उहाँ केही दिनयता अन्य  पार्टीका नेतासँग पनि भेटघाटमा हुनुहुन्छ । त्यसक्रममा आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा संघीय संसद मनिष झा र अस्ति हालै बेइजिङ्गबाट फर्किएका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेट्नुभयो । 

पूर्वराष्ट्रपतिसँग बिहान करिब डेढ घण्टा कुराकानी भएको जानकारी दिँदै झाले यसलाई राजनीतिक संवादको सुरुआत भनेका छन् । उनका अनुसार भेटमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमसँगै रवि लामिछानेबारे पनि कुराकानी भएको थियो ।  

पूर्वराष्ट्रपति भण्डारीले सहकारी ठगी प्रकरणलाई राजनीतिक मुद्दा बनाएर रविलाई अनावश्यक दु:ख दिइएको भन्दै दु:खमनाउ गरेको झाको भनाइ छ । ‘सहकारीको विषय समाधान गर्नुपर्ने थियो । तर यसलाई राजनीतिक मुद्दा बनाएर रवि लामिछानेलाई दु:ख दिइराखिएको छ । त्यसमा म असन्तुष्ट छु । उहाँप्रति मेरो सद्भाव छ भन्नुभयो’, उनले सुनाए । 

बिहान रास्वपा नेता झासँग लामो कुराकानी गरेकी पूर्वराष्ट्रपतिले हिजोराति बागमती प्रदेशका यातायातमन्त्री जयराम थापालाई भेट्नुभएको थियो । एमाले नेतासमेत रहेका मन्त्री थापा भण्डारीलाई भेट्न राति सवा ७ बजे भंगाल पुगेका थिए । उनी पौने पौने ९ बजे त्यहाँबाट निस्किएको बताइएको छ । 

यसअघि पार्टीले प्रतिवन्ध लगाउँदै गर्दा कांग्रेस नेता शेखर कोइरालालाई भेटेकी भण्डारीले लगत्तै पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग संवाद गर्नुभएको थियो । त्यसअघि माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले पनि भेटेका थिए ।

टिप्पणीहरू