छोटो लुगाभित्र लुकेका उच्च विचार
नाम होस्,बदनाम होस् तर गुमनाम नहोस् भनेझैँ चर्चामा आइरहने पात्र हुन्-लोकदोहोरी गायिका ज्योति मगर । पहिरनका कारण बेलाबखत विवादमा समेत पर्ने गरेकी उनी हक्की स्वभावकी छिन् । आफ्नो विचार निडरताका साथ अभिव्यक्त गर्छिन् ।
ज्योतीमाथि आलोचकहरुको एउटा आरोप छ- उनको छोटो लुगाले अश्लिलता फैलायो । तर, त्यसमा उनको कुनै खण्डन र प्रतिवाद छैन । बरु खुलस्त भन्छिन्, ‘दुनियाँ नै यही हेर्न चाहन्छ ।’
यहाँ चर्चा भने ज्योतीको लुगाको होइन,उनमा रहेको वैचारिक दृष्टिकोणको हो,जुन नेपाली कलाकारमा बिरलै पाइन्छ । हालै एक पोडकास्टमा राज्य व्यवस्था,सहकारी ठगी प्रकरण,चलचित्रकाे विकृत प्रचार शैली र पारिवारिक सम्बन्धबारे दिएको अभिव्यक्ति चर्चामा छ । धेरैले उनको ज्ञान र अनुभवमा निखारता आएको प्रतिक्रिया दिएका छन् ।
पछिल्लो समय डिजिटिल प्ल्याटफर्मको प्रयोग गरेर सजिलै मनोरञ्जन क्षेत्रमा स्थापित भएका कलाकारले ज्योतीको अभिव्यक्तिबाट धेरै कुरा सिक्न सक्ने चर्चा चलचित्र वृत्तमा व्यापक छ । राज्यप्रति कलाकारको दायित्व र जिम्मेवारी के हो भन्नेबारे उनले नयाँ तथा पुराना कलाकारलाई सन्देश दिएकी छन् । ज्योतीका चार स्पष्ट दृष्टिकोणबारे संक्षिप्तमा चर्चा गरौँः
‘रवि निर्दोष होइनन्’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको 'स्टन्ट' र सस्तो लोकप्रियताको पछाडि लाग्नेहरुप्रति ज्योती केवल सहानुभूति व्यक्त गर्न चाहन्छिन् । सहकारी ठगी प्रकरणमा रविमाथि सरकारले प्रतिशोध साँधेको भन्दै रास्वपाले चलाइरहेको हस्ताक्षर संकलन अभियानलाई उनले नौटंकीको संज्ञा दिइन् ।
रास्वपाले दावी गर्दै आएको राजनीतिक प्रतिशोधबारे उनको अभिव्यक्ति पढाैँः
‘उहाँ (लामिछाने)को त कुरै बुझिएन नि ! कहिले भन्नुहुन्छ प्रतिशोध साँधियो,एक पैसा खाएको छैन भनेर । कहिले मेरो भागको बिगो तिर्छु भन्नुहुन्छ । के हो त त्यो ? नखा"को बिगो किन तिर्ने ? त्यत्रा त्यत्रा ट्रान्जेक्शनहरु कसरी हुन्छ ? यो चाहिँ प्रश्न हो मेरो । ठुल्ठूला कुराहरु थाहा पाउने मेरो औकात छैन,तर एउटा सामान्य मान्छेले पनि बुझ्छ क्या त्यत्ति कुराचाहिँ !
गणतन्त्रलाई गाली गरेर राजतन्त्रको पक्षमा केही लेख्यो भने त्यतै भीड लाग्छ नि त ! तर त्यो गलत हो । कम्तिमा आफ्नो वैचारिक दृष्टिकोण हुनुपर्छ भन्या । सहीलाई सही,गलतलाई गलत भन्न सक्नुपर्छ । भीडको पछाडि लाग्नुहुँदैन ।
उहाँ अहिले अनुसन्धानमा हुनुहुन्छ,तर प्रतिशोध साँधेर मान्छेलाई यत्तिकै जेलमा हाल्दिने भए त... ल मैले तपाईंमाथि प्रतिशोध साँधेर जेल हाले पनि तपाईं प्रमाणित हुनुहुन्छ र ? तपाईंले बिगो तिर्छु भन्नुहुन्छ ? मलाई ज्योती मगरले ब्लेम लगायो भनेर हस्ताक्षर संकलन गर्दै हिँड्नुहुन्छ ? त्यो त प्रमाणित नै हुँदैन नि ! बरु आगोमा घ्यू थप्ने कामचाहिँ भएको हुनसक्छ,त्यो हुन्छ पनि राजनीतिमा । तर, म उहाँलाई सतप्रतिशत निर्दोष मान्दिन ।
‘उतिबेला पनि थिए छोटे राजाहरु’
पछिल्लो समय राजा फर्काउने आन्दोलन चलिरहेको छ । राजावादीहरू त यस्तो आन्दोलनमा खुलेर लाग्ने नै भए कतिपय आफूलाई बौद्धिक भन्नेहरू पनि 'गणतन्त्रका सयौँ छोटे राजाभन्दा यौटै राजा ठीक भन्दै' सञ्जालमा पोखिएको पाइन्छ ।
तर,यसमा कलाकार ज्योतीको स्पष्ट धारणा छ- जनताको लागि गणतन्त्र नै सही हो । प्रगतिशील विचारधाराकी उनलाई लाग्दैन कि गणतन्त्रभन्दा राजतन्त्र सुन्दर व्यवस्था हो ।
‘अहिलेका छोटे राजाभन्दा एउटै राजाले खाओस्’ भन्ने भाष्यको खण्डन गर्दै उनले भनेकी छन्:
जनताको पक्षमा बोल्ने व्यवस्था ठीक कि पञ्चायत ठीक त ? सामान्य जनतादेखि लिएर ठूलासम्मको अधिकार बराबर हुनेगरी बनाइएको व्यवस्था नै ठीक हैन र ? राजतन्त्रमा राजाबाहेकका छोटे राजाहरु हुँदैनन् र भन्या ? राजा महेन्द्रले राज गरिरहँदा बीरेन्द्र,ज्ञानेन्द्र,धिरेन्द्रहरु पनि छोटो राजा थिए नि ! उनका सुसारेहरु,मन्त्रिमण्डल,ठाउँ ठाउँका पञ्चायतमा मुखियाहरु,मुखियामुनि पनि छोटे मुखियाहरु थिएनन् र ?
अहिले त चुनाव जितेर आउनुस्,जनताको मन जितेर आउनुस्,देशको कार्यकारी प्रमुख बन्ने दम राख्न सकिन्छ नि ! यो सुविधा गणतन्त्रले नै दिएको होइन र ? अब हामीले के राजाको जेठो छोरालाई नै राजा मान्दिनुपर्ने ? त्यतै जाने हो त अब ? यत्ति कमनसेन्स नहुने मान्छेहरु देख्दा पनि अचम्म लाग्छ भन्या !’
‘विचार बिनाका कलाकारको विश्वास नगरौँ’
नेपाली कला क्षेत्रमा पछिल्लो समय चलचित्र तथा गीत हिट बनाउन समाजिक सञ्जालको अध्ययन गरेर सोहीअनुसार प्रचार गर्ने ट्रेण्ड विकास भएको छ । जसको पक्षमा बोल्दा वा लेख्दा लाइक, कमेण्ट र भ्युज बढी आउँछ,त्यसैको पक्षमा उभिएर सामाग्रीको प्रचार गर्ने शैली व्यापक देखिन्छ । तर, यस प्रवृतिप्रति ज्योती सहमत छैनन् । उनका अनुसार कलाकारसँग आफ्नो वैचारिक दृष्टिकोण हुनैपर्छ ।
चलचित्र क्षेत्रमा विकृति रुपमा फैलिरहेको यस्ताे प्रचारात्मक शैलीको विरोध गर्दै ज्योतीले दिएको अभिव्यक्ति यस्तो छः
दुई चार जना लिजेण्ड दाइ,दिदीहरु हुनुहुन्छ । उहाँको ब्यानरबाट हिट हिट चलचित्र पनि आएको छ । उहाँहरुले चाहिँ कुन समयमा के चलिरहेको छ, त्यसको विषयमा के लेखेपछि धेरै लाइक र कमेण्ट आउँछ,मान्छेले जयजयकार गर्छन्, त्यही लेख्नुहुन्छ । आफ्नो प्रमोशन गर्न जनताले के सुन्न चाहन्छ, त्यही लेख्नुहुन्छ । तर त्यो गलत हो ।
पैसा त जसरी पनि कमाउन सकिन्छ क्या । ड्रग बेचेर कमाउन सक्छ,इज्जत बेचेर कमाउन सक्छ, लुटेर र भ्रष्टाचार गरेर पनि कमाउन सक्छ, तर त्यो पैसाले आमा बाबु खुशी हुन्छन् त ?
पहिले-पहिले नेताहरुबारे उहाँहरुभन्दा मीठो बोलेको अरु कोही देखेको थिइनँ । कोही नेता पावरमा आएपछि सबैभन्दा पहिले उहाँहरुको स्टाटस आउँथ्यो,बधाई छ फलानो मन्त्रीज्यू,बधाई छ फलानो सांसदज्यू भनेर ! अनि, अलि पछाडि रवि लामिछानेज्यूको एउटा क्रेज देखियो, सबै त्यतै उर्लिन थाले । हाम्रो देउता,हाम्रो महादेव भनेर सबै उर्लिन थालेपछि उहाँहरुले फेरि त्यतैको पक्षमा लेख्न थाल्नुभयो ।
अनि अहिलेचाहिँ उहाँहरुको केमा स्टाटस गइरहेको छ भन्दा गणतन्त्र फालेर राजतन्त्र ल्याउनुपर्यो रे ! गणतन्त्रलाई गाली गरेर राजतन्त्रको पक्षमा केही लेख्यो भने त्यतै भीड लाग्छ नि त ! तर त्यो गलत हो । कम्तिमा आफ्नो वैचारिक दृष्टिकोण हुनुपर्छ भन्या । सहीलाई सही,गलतलाई गलत भन्न सक्नुपर्छ । भीडको पछाडि लाग्नुहुँदैन ।
जो चर्चामा छ,त्यसकै पछाडि लाग्नु त अवसरवादीहरु हुन् । त्यस्ता अवसरवादीको कुरामा कहिल्यै विश्वास गर्नुहुँदैन,मैले कहिल्यै गर्दिनँ पनि । जसको जयजयकार भइरहेको छ,त्यसको पछाडि लागेर भीडको हिस्सा किन बन्ने ? आवाज सानो होला,तर सत्य सधैं सत्य नै हुन्छ ।’
‘बाबु आमा पैसाले खुशी हुने होइनन्’
सूचना प्रविधिबाट लिन सकिने लाभबारे छुट्टै चर्चा गर्न सकिएला । तर, प्रविधिले कहीं न कहीं नेपाली समाजलाई नकारात्मक प्रभाव पारिरहेको छ, यसमा ज्योती सहमत छिन् ।
खासगरी पछिल्लो समय टिकटक यस्तो प्ल्याटफर्म बनेको छ, जहाँ चलचित्रको लागि खुल्ला अडिशन हुन्छ । भनिन्छ, अचेल निर्देशक तथा निर्माताहरु चलचित्र बनाउनुअघि हिरोइनको लागि टिकटक नियाल्छन् । जसको अनुहार र शरीर आकर्षक छ, उसैलाई निम्तो जान्छ फिल्मको लागि ।
तर, यसरी चलचित्रमा आएका तिनै कलाकारले भन्न थालेका छन्- पैसा भएपछि सबै ‘सर्ट आउट्’ हुन्छ, बाआमा खुशी हुन्छन् । तर यसमा पनि ज्योती सहमत छैनन् । त्यस्तै सेलिब्रेटीहरूले समाजमा गलत सन्देश प्रवाह गरिरहेको उनको निष्कर्ष छ ।
त्यसबारे भन्छिन्:
एक जना चर्चित टिकटकरले पैसा भएपछि सबै कुरा सर्ट आउट् हुन्छ भनेको सुनेँ । त्यस्ता सेलिब्रेटीहरुले पैसा कमायो भने सबै समस्या समाधान हुन्छ, बाबुआमालाई खुशी राख्न सकिन्छ भनिरहेको देख्छु । यो बिल्कुल गलत सन्देश हो । तपाईंले सुनको गहना दिएर,घर बनाइदिएर,खत्रा ओछ्यानमा सुताएर,गाडी चढाएर,हेलिकोप्टरमा चढाएर खुशी हुने होइनन् ।
आमाबाबुहरु सन्तानको खुशीमा खुशी हुन्छन्, तर त्यो खुशीको कारण राम्रो हुनुपर्छ । पैसा त जसरी पनि कमाउन सकिन्छ क्या । ड्रग बेचेर कमाउन सक्छ, इज्जत बेचेर कमाउन सक्छ, लुटेर र भ्रष्टाचार गरेर पनि कमाउन सक्छ, तर त्यो पैसाले आमाबाबु खुशी हुन्छन् त ? हुँदैनन् नि । तर समाजमा सानो राम्रो काम गरे पनि आमाबाबु खुशी हुन्छन् ।
समग्रमा ज्योतिको पछिल्लो ‘अपग्रेड’ अभिव्यक्तिले सर्वत्र प्रशंसा पाएको देखिन्छ । गणतन्त्र र राजतन्त्रबीच सामान्य फरक छुट्याउन नसक्ने कलाकारहरुको बिगबिगी भइरहेको बेला उनले राम्रो पाठ सिकाएकी छन् ।
मुलुककाे विद्यमान अवस्थाबारे सामान्य जानकारी नराख्ने कलाकारलाई आधारभूत जिम्मेवारी पनि सिकाएकी छन् । चलचित्र क्षेत्रमा हावी हुँदै गएको गलत प्रचार शैलीविरुद्ध ज्योतीको हुंकार साँच्चीकै प्रशंसायोग्य देखिएको छ ।
टिप्पणीहरू