बोर्डिङका सञ्चालक सिंहदरबारमा, सरकारी शिक्षक सडकमा
प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै सडक संघर्षमा उत्रिएका निजी विद्यालयका सञ्चालकले शिक्षामन्त्री रघुजी पन्तलाई भेटेका छन् ।
निजी विद्यालयहरुको साझ संगठन प्याब्सन, एनप्याब्सन, हिसान, अपेन र एनएमए लगायत संस्थाका प्रतिनिधिहरुको संयुक्त टोलीले आज सिंहदरबार पुगेर मन्त्री पन्तलाई भेटेको हो । भेटमा उनीहरुले विधेयकमा रहेको निजी विद्यालयलाई गैरनाफामुलक बनाउने र पूर्ण छात्रवृत्तिको प्रावधान हटाउनुपर्ने माग राखेका छन् ।
मन्त्री पन्तसँग सकारात्मक कुराकानी भएको प्याब्सनका पूर्व अध्यक्ष डिके ढुंगानाले जानकारी दिए । उनका अनुसार पन्तले माग सम्बोधनको प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । यद्यपि, आफूहरुको आन्दोलन भने जारी नै रहने ढुंगानाको भनाइ छ ।
भदौ १८ गतेसम्म सरकारले शिक्षा विधेयकमा आफूहरुको माग सम्बोधनको पहल नगरेमा देशभरका नीजि विद्यालयहरु अनिश्चितकालीन बन्द गर्ने उनीहरुको चेतावनी छ ।
उता नेपाल शिक्षक महासंघले पनि सरकारलाई भदौ २१ गतेसम्मको अल्टिमेटम दिएको अवस्था छ । अस्ति नेपाली कांग्रेस, हिजो नेकपा एमाले र आज माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना दिएको महासंघले संघीय संसद र शिक्षा समितिको कार्यालयसमेत घेराउ गर्ने योजना बनाएको छ ।
टिप्पणीहरू