गुरुहरू आज एसको अफिसमा
प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै संघर्षमा उत्रिएका शिक्षकहरूले आज एकीकृत समाजवादीको कार्यालयमा धर्ना दिएका छन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूको एक टोली आज बिहान काठमाडौँ महानरपालिका-३१ आलोकनगरस्थित सो पार्टीको कार्यालयमा धर्ना बस्न पुगेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अगुवाई गरेको धर्नामा उपाध्यक्ष नानूमाया पराजुली, महासचिव तुलबहादुर थापालगायत एक दर्जन सहभागी छन् ।
महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन दबाब दिने उद्देश्यले महासंघले दबाबमूलक कार्यक्रम गर्दै आएको छ । यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको मुख्यालयमा पनि धर्ना दिएका थिए ।
संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा महासंघका मागहरु सम्बोधन गर्न दबाब दिनको लागि आफूहरु आन्दोलनमा उत्रिएको महासंघका अध्यक्ष सुवेदीले जानकारी दिए । सार्वजनिक शिक्षालाई उन्नत गराउनको लागि शिक्षक कर्मचारी र नेपाल शिक्षक महासंघले राखेका मागहरु सम्बोधन गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।
महासंघले अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक प्रतिष्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने माग अघि सारेको छ । तर, विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने व्यवस्थासहित समितिले प्रतिनिधि सभामा पठाएको छ ।
विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको र बालकक्षा शिक्षकको पद र सेवा सुविधा निश्चित नभएको, संस्थागत विद्यालयका शिक्षकको सेवा र अव्यवहारिक सरुवा प्रणालीको व्यवस्था ल्याइएको भन्दै महासंघको आक्रोश रहँदै आएको छ ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट विधेयक भदौ ५ मा पारित गरिएको थियो । विधेयकमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका छन् ।
टिप्पणीहरू