बलात्कारबाट पार नलाग्दै कमरेडमा परिणत ?

बलात्कारबाट पार नलाग्दै कमरेडमा परिणत ?

बलात्कार र भ्रष्टाचार मुद्दाका आरोपितलाई तामझामसहित एमालेमा प्रवेश गराइएको छ । 

अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको हातबाट माला र सिन्दुर लगाएर हिजो रुपन्देहीमा दुईजना एमालेमा मिसिएका थिए । एमाले रोज्नेहरू एकजना सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र अर्का मर्चवारीका पूर्वअध्यक्ष केशवनन्द बानियाँ हुन् ।

२०७४ सालमा तत्कालीन मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)बाट चुनाव जितेका बब्लु २०७८ साउनमा बलात्कारको अभियोगमा पक्राउ परेका थिए । वडा नम्बर ६ असुरैनामा रहेको आफ्नै निवासमा बोलाएर महिलालाई जबर्जस्ती करणी गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेपछि प्रहरी नियन्त्रणमा लिएर उनीमाथि अनुसन्धान गरेको थियो । 

मर्चवारीका पूर्वअध्यक्ष बानियाँ भने भ्रष्टाचारमा डामिएका व्यक्ति हुन् । २०७४ मा संघीय समाजवादी फोरमबाट गापा अध्यक्ष जितेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 
पालिका अध्यक्ष भएर अकूत सम्पति थुपारेको अभियोग उनीमाथि लागेको थियो । 
 
यी दुईलाई पार्टीमा मिसाउँदै अर्थमन्त्री तथा उपाध्यक्ष पौडेलले जिल्लाको समृद्धिको जिम्मा एमालेले लिने उद्धघोष गरे । देशको नेतृत्व गर्न सक्ने एकमात्र पार्टी एमाले भएको पनि उनले त्यसक्रममा दाबी गर्न भ्याए । 

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन दुई पूर्वअध्यक्षहरु आफ्नो पार्टीमा आएको भन्दै पौडेलले सन्तुष्टिसमेत व्यक्त गरेका थिए । तर, एमालेकै एकथरी नेता-कार्यकर्ताले भने भ्रष्टाचार र बलात्कारजस्तो गम्भीर अपराधका अभियुक्तलाई पार्टीमा हुलेकोमा असन्तुष्टि जनाएको पाइन्छ ।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ दलको आक्रमणमा परिरहेका बेला यस्ता गनाएका पात्रलाई पार्टीमा प्रवेश गराउँदा गाउँमा मुख देखाउन पनि नसक्ने अवस्था बनेको गुनासो स्थानीय एक कार्यकर्ताले गरेका छन् । 

'मूलत देशमा सुशासन कायम गर्नका लागि एमालेले चालेको यो कदम निकै महत्वपूर्ण रहेको छ', कटाक्ष गर्दै जिल्ला कमिटीका उनै नेता भन्छन्, 'न्यूनतम योग्यता पूरा गरेर एमाले प्रवेश गरेका शुक्ला र बानियाँको उज्जवल राजनीतिक भविष्यका लागि शुभकामना ।'

टिप्पणीहरू