माओवादी र जनार्दन दुबै संस्कारी : प्रचण्ड
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य राजनीतिक दलको तुलनामा माओवादी केन्द्रको संस्कार राम्रो भएको दाबी गर्नुभएको छ। उहाँले उपमहासचिव जनार्दन शर्माले पनि त्यही संस्कारमा रहेर पार्टीभित्र आफ्नो कुरा राखिरहेको उल्लेख गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश समितिको सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रचण्डले अन्य दलको बैठकमा नेतृत्वको आलोचना गर्ने नेताहरूलाई बोल्न समेत नदिइने अवस्था रहेको उल्लेख गर्नुभयो । ‘हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जहाँ नेता र कार्यकर्ताले आफूले देखेको कुरा खुला रूपमा राख्न सक्ने अवसर पाउँछन्,’ उहाँले भन्नुभयो । ‘पदाधिकारी बैठकदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने हाम्रो संस्कार माओवादी केन्द्रमा मात्रै छ। अहिले जेजस्ता विषयहरू बाहिर आएका छन्, त्यही संस्कारबाट हुर्किएर आएको हो ।’
अध्यक्ष प्रचण्डले पार्टीको संगठन बलियो बनाउन गाउँ–गाउँ पुग्न नेताहरुलाई निर्देशन पनि दिनुभयो। दशैँ–तिहारपछि आफैँ सुदूरपश्चिम पुगेर जनतासँग प्रत्यक्ष भेट गर्ने योजना उहाँको छ। ‘हामीले सरकारमा हुँदा गरेका काम र अहिले सडकबाट उठाएका आवाजका कारण जनभावना सकारात्मक बनेको छ। अब त्यसलाई संगठनमार्फत संस्थागत गर्नु आवश्यक छ,’ उहाँले थप्नुभयो। ‘सबै नेता र कार्यकर्ताले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ। तिहारपछि म आफैँ आएर जनतासँग प्रत्यक्ष संवाद गर्ने योजना बनाइरहेको छु।’
पार्टीभित्र आत्मसमीक्षा, आलोचना र आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउन सबैले विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने उहाँको निचोड छ ।
टिप्पणीहरू