चीनमा भएको विश्व नेताहरूको भेटघाटपछि अमेरिका आक्रोशित

चीनमा भएको विश्व नेताहरूको भेटघाटपछि अमेरिका आक्रोशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व व्यापार सल्लाहकार र अर्थमन्त्रीले चीनको थिएन्चिनमा भएको सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनप्रति तीतो पोखेका छन् । पूर्व व्यापार सल्लाहकार पीटर नवारो र अर्थमन्त्री स्कट बेसन्टले रुसी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिसँग भएको भारतीय प्रधानमन्त्रीको भेटघाट र चिनियाँ राष्ट्रपतिले रुसी राष्ट्रपतिप्रति देखाएको निकटतालाई लिएर आपत्ति जनाएका हुन् ।

नवारोले भनेका छन्, ‘मोदी सी जिनपिङ र भ्लादिमिर पुटिनसँग उभिनु लज्जास्पद हो । उनी के सोचिरहेका छन् थाहा छैन तर हामीलाई आशा छ उनी रूसको सट्टा हाम्रो पक्षमा हुनुपर्छ ।’

रुसी तेल किनेको सन्दर्भमा उनले भारतलाई ‘रूसको वाशिङ मेसिन’ को संज्ञा दिएका छन् । नवारोले भारतले व्यापार घाटा बढाएको र अमेरिकी हितविपरीतका गठबन्धनलाई मलजल गरेको गम्भीर आरोप लगाएका छन् ।

उता अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले पनि भारतले रूसबाट कच्चा तेल किनिरहेको विषयमा प्रश्न उठाएका छन् । मस्कोको युद्धलाई बल पुर्याएको भन्दै मोदीको आलोचना गरेका हुन् ।

बेसन्टले प्रधानमन्त्री मोदीको एससीओ बैठकमा भएको सहभागितालाई ‘देखावटी’ को संज्ञा दिएका छन् । चीन र रुसको साथ छाडेमा भारतमाथि लगाइएको उच्च भन्सार दरलाई कम गर्न सकिने उनको भनाइ छ ।

टिप्पणीहरू