चीनमा पर्यटकलाई भुक्तानी प्रणालीमा थप सहजता

चीनमा विदेशी पर्यटकलाई खर्चका लागि भुक्तानी माध्यम झन् सजिलो बनाइएको छ । विभिन्न भुक्तानी विकल्पहरू र अन्तर्राष्ट्रिय कार्ड स्वीकृतिको दायरालाई विस्तार गरिएपछि पर्यटकहरुले सहजताको अनुभव गरेका हुन् ।

सांघाईमा अब ट्याक्सी भाडा तिर्न पर्यटकले चालकको मोबाइलमा आफ्नो अन्तर्राष्ट्रिय क्रेडिट वा डेबिट कार्ड ट्याप गरे सजिलैसँग भुक्तानी हुने व्यवस्था मिलाइएको छ । यसअघि पनि चीन आएका गिल्बर्टजस्ता पर्यटक भन्छन्, ‘अब नगद बोकेर हिँड्ने दिन सकिएको छ ।’

रुवाण्डाका पर्यटक गिल्बर्ट भन्छन्, ‘म साँच्चै अचम्मित भएँ, किनभने पहिले सांघाई आउँदा हामी विदेशीले मुख्यतयाः नगदमा निर्भर हुनुपरेको थियो । तर अहिले निकै सजिलो भएको पाएँ । तपाईँ आफ्नै देशको बैंक कार्ड, जस्तै भिसा कार्ड आदि प्रयोग गरेर सजिलै स्वाएप गर्न सक्नुहुन्छ । यत्तिकैले पनि जीवन सजिलो भएको छ ।’

त्यसैगरी, मेट्रो प्रयोग गर्न चाहनेका लागि पनि शहरले सबवे टर्नस्टाइलहरूलाई ‘ट्याप एण्ड गो’ प्रणालीमा विकसित तुल्याएको छ । अब कागजी टिकट लिनु नपर्ने भएकाले, नजिकै राखिने पहिलेका टिकट मेसिन प्रयोग गर्दा हुने सम्भावित झन्झटबाट विदेशी पर्यटक मुक्त भएका छन् ।

बैंक अफ कम्युनिकेसन्स, साङ्घाई शाखाको क्रेडिट कार्ड विभागका स्ये हुआ भन्छन्,‘मेट्रो यात्राका लागि हामीले बैंक कार्डमा ‘फ्ल्यास पे’ सुविधा र डिजिटल युआनको हार्ड वालेटमार्फत गेटमा ट्याप–टु–पे सुविधा ल्याएका छौं। यी प्रयासले स्वदेशी वा विदेशी सबै यात्रुका लागि यात्रामा यसअघि देखिएको असुविधा कम गर्न सहयोग पुर्याएको छ ।’

पछिल्लो तथ्याङ्कले गत जुन र जुलाई महिनामा विदेशी पर्यटकको अन्तर्राष्ट्रिय बैंक कार्डमार्फत् वीच्याट् पे प्रयोगमा भएका कारोबार संख्या र मूल्य दुवै गत वर्षको सोही अवधिको तुलनामा तीन गुणाले बढेको देखाउँछ ।

स्रोत : सिसिटिभी प्लस

टिप्पणीहरू