गोकुललाई ‘राइफल’ देखाएर खाली चेक

गोकुललाई ‘राइफल’ देखाएर खाली चेक

मुद्दा दर्ता भएको १८ महिनापछि जिल्ला अदालत काभ्रेले हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा कसुर ठहर गरेको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले २०८२ भदौ १० गते मंगलबार सजायँ निर्धारणका लागि पेश गर्न आदेश दिएको थियो । २०८० फागुन १७ गते जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर गरेको थियो । 

जग्गा कारोवारीद्धय रामबहादुर थिङ र गोकुल नगरकोटीबीच लेनदेनको विवाद अदालतसम्म पुगेको थियो । काभ्रेपलाञ्चोक जिल्ला साविक बुढाखानी गाविस ८ घर भई हाल महाभारत गाउँपालिका वडा नम्बर ५ बस्ने ३९ वर्षीय रामबहादुर थिङ र भक्तपुर नगरपालिका वडा नम्बर १५ घर भई हाल वडा नम्बर ८ मा डेरा गरी बस्ने ५२ वर्षीय गोकुल नगरकोटीले चितवनमा जग्गा खरिद बिक्री गर्ने क्रममा लेनदेन गरेका थिए । गोकुलले २०७८ सालमा पटक पटक गरी ५० लाख बैंक र नगदै रामबहादुर थिङलाई दिए ।

तर थिङले रकम समयमा फर्काएनन् । रकमबापत ४५ लाखको चेक दिए तर साँटिएन । बाँकी ५ लाख रुपैयाँको २०७९ भदौ २७ सम्म नविकरण भएको २२ बोरको राइफल एक थानसहित दुई सय थान गोली बिक्री गरे । बनेपा–७ स्थित तरकारी बजारमा रहेकी छोरी कविताले हतियार दराजबाट निकालेर दिइन् । त्यसको भिडियो बनाएकी थिइन् । फोटो खिचेकी थिइन् । गोकुलले गैरकानुनी रूपमा हतियार खरिद गरेको, कविता तामाङले मतियारको काम गरेको र रामबहादुरले बिक्री गरेको सोही अभियोगमा दोषी ठहर भएका हुन् । 

गोकुलले दिएको रकम फिर्ता नभएपछि रामबहादुरविरुद्ध चेक अनादर मुद्दामा सजायँ ठहर भएको छ । उनी फरार हुँदाहुँदै हतियार कारोवार छोरीमार्फत भएको थियो । २०७९ फागुन २१ गते उच्च अदालत पाटनबाट १० दिन कैद र ५५ लाख ५२ हजार ५ सय रुपैयाँँ जरिवानाको फैसला भएको थियो । कविताले आफैँ हतियार दिएर गोकुल नगरकोटी लगायतले चोरी गरेको उजुरी प्रहरी कार्यालयमा दिएकी थिइन् । रामबहादुर थिङले मुद्दा डाइभर्ट गरी नगरकोटीलाई दुःख दिन हतियार बिक्री गरेका थिए । 

यसबीच मोटरसाइकल, बस तथा साना गाडीको चोरी सामान्य हुन थालेको छ । हुँदाहुँदै निर्माणाधीन घरमा राखिएका फलामका डण्डी, वायरिङ्गको तार तथा पानीका ट्यांकी चोर्ने पेशा पनि फस्टाइरहेको छ । विद्युतका ट्रान्सफर्मर पनि चोरी हुन थालेका छन् । सुन, गरगहनाको पाकेटमारी झनै सामान्य भएको छ । पनौती–३ कुशादेवी डिहीगाउँमा दिउँसै ट्याक्सी लिएर गई घर फोड्ने जत्था युवाहरूकै थियो । प्रहरीले एकाध घटनामा संलग्नको पहिचान गरेको छ । पक्राउ पनि गरेको छ तर पनि घटनामा कमी छैन ।

– मोतीराम तिमल्सिना

टिप्पणीहरू