फरक मतबारे शंकर पोखरेलको कडा तर्क
नेकपा एमालेका महासचिव शंकर पोखरेल आसन्न विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे फरक मत राख्न नमिल्ने जिकिर गरेका छन् ।
बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले फरक मतलाई पनि छलफलमा लैजानुपर्ने माग गरिरहेका बेला उनको यो प्रतिक्रिया आएको हो । विधान महाधिवेशनमा पार्टीको आधिकारिक दस्तावेजमाथि मात्रै छलफल हुने वैधानिक व्यवस्था रहेकाले भण्डारीको सदस्यताबारे छलफल गर्न नपाइने शंकरले प्रष्ट्याए ।
विधान महावेशनको तयारीबारे जानकारी दिन पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'विधान महाधिवेशनमा फरक मतको अनुमान नगरौँ । अहिले दस्तावेजमाथिको फरकमत आइपुगेको छैन । निर्णयमाथिको फरक मत हो । दस्तावेजको छलफलमा त्यो फरक मत हुँदैन । किनकी निर्णयमाथिको फरक मत र दस्तावेजमाथिको फरक मत फरक विषय हुन भन्ने कुरा त हामी बुझ्दछौं । त्यस अर्थमा अहिले जे आएको छ । त्यसलाई त्यही रुपमा बुझौं ।'
उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटी बैठकमा फरक मत राखेको भएपनि विधान महाधिवेशनमा त्यसलाई छलफल गराउन नपर्ने दाबी शंकरको छ । जबकि पाण्डेले फरक मत राख्ने घोषणा गरिसकेका छन् ।
यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेले दोस्रो राष्ट्रिय विधान मधिवेशन गर्दैछ । जहाँ अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
त्यसैगरी, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव पोखरेलले संगठनात्मक प्रस्ताव पेश गर्ने तयारी छ । पोखरेलले सोही विषयमा केन्द्रित रहेर महाधिवेशनमा छलफल हुने कार्यसूचि रहेको स्पष्ट पारे ।
टिप्पणीहरू