प्रधानमन्त्री राती १० बजे पत्रकारहरुसङ्ग बोल्ने
प्रधानमन्त्री केपी शर्मा ओलीको साँझ साढे ७ बजे हुने भनिएको पत्रकार सम्मेलन राति १० बजेलाई सारिएको छ । चीन भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आज साँझ साढे ७ बजे राखिएको पत्रकार सम्मेलन उहाँको आगमन समय झण्डै तीन घण्टा पछाडि धकेलिएकाले राति गर्न लागिएको बताइएको छ ।
चीनको राजधानी बेइजिङमा आज बिहान आयोजित भव्य सैनिक परेड अवलोकन सकेर उहाँ हिमालय एअरलाइन्सको उडानमा स्वदेश फर्कंदै हुनुहुन्छ । हिमालय एअरलाइन्सको विशेष उडान नम्बर एचआइएम ००२ मा सवार उहाँ बेइजिङबाट स्थानीय समयअनुसार पौने ६ बजे काठमाडौं प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री राति पौने १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुहुने छ । उहाँ २७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार बिहान सोही एअरलाइन्सको उडानमा काठमाडौंबाट उत्तरपूर्वी चीनको थिएन्चिन शहर जानुभएको थियो ।
थिएन्चिनमा आइतबार र सोमबार सांघाई सहयोग संगठन (एससिओ) को २५ औं शिखर सम्मेलनमा सहभागी भइवरी प्रधानमन्त्री हिजो दिउँसो फास्ट ट्रेनमा राजधानी बेइजिङ जानुभएको हो । थिएन्चिनमा उहाँले चिनियाँ राष्ट्रपति सि चिनफिङ,रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतसङ्ग औपचारिक भेटवार्ता गर्नुभएको थियो । हिजो बेइजिङस्थित स्टेट गेष्ट हाउसमा चिनियाँ उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभयो ।
टिप्पणीहरू