विधान महाधिवेशनमा विद्याबारे छलफल नगर्ने ओलीको अडान
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे छलफल नहुने बताउनुभएको छ ।
आज ललितपुरको गोदावारीस्थित सनराईज हलमा महाधिवेशन उद्घाटन गर्दै उहाँले केन्द्रीय कमिटीले नै भण्डारीको सदस्यताबारे निर्णय लिइसकेकाले थप छलफल आवश्यक नपर्ने जिकिर गर्नुभएको हो । विधान महाधिवेशनमा विधानसम्बन्धी विषयमात्र एजेण्डामा रहेको ओलीको भनाइ छ ।
‘कसैको सदस्यबारे उठेका प्रश्नहरु विधान महाधिवेशनसँग सम्बन्धित छैनन्, ती प्रश्नहरु कमिटीगत छलफलका विषय हुन्’,भन्नुभयो, ‘सचिवालय, स्थायी कमिटी, पोलिटब्युरोले छलफल गरिसक्यो, गर्दै लानेछ ।’
प्रधानमन्त्री ओली विधान महाधिवेशनमा विधानसम्बन्धी विविध विषयबारे मात्रै छलफल हुने जानकारी पनि गराउनुभयो । अघि थप्नुभयो, ‘विधान महाधिवेशनलाई विधान महाधिवेशनकै रुपमा अघि बढाउनेछौँ, विषय केन्द्रित भएर यस महाधिवेशनमा प्रस्तुत हुनेछौँ।’
उता पार्टीमा रोक लगाइएकी पूर्वराष्ट्रपति भण्डारीले भने विधान महाधिवेशन प्रतिनिधिहरुलाई एक चिठ्ठी लेख्दै संगठन बलियो बनाउन आवाज उठाउन आग्रह गर्नुभएको छ ।
आफूले सदस्यता लिएर पार्टीमा सक्रिय हुन्छु भन्दा पनि नेतृत्वले रोक लगाउने निर्णय गर्नु विधान र संविधान विपरित भएको भन्दै त्यसविरुद्ध सशक्त आवाज उठाउन उहाँले अपील गर्नुभएको छ ।
टिप्पणीहरू