विद्या भण्डारीको पत्र प्रतिनिधिका हात हातमा

विद्या भण्डारीको पत्र प्रतिनिधिका हात हातमा

पार्टी प्रतिवन्धमा परेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा नेकपा एमालेका कार्यकर्ता क्रमश: खुल्न थालेका छन् । आजदेखि शुरु भएको विधान महाधिवेशनस्थलमा भण्डारीको पक्षमा एक प्रकारको माहोल नै देखियो। 

ललितपुरको गोदावरीस्थित सनराइज हलमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको औपचारिक उद्घाटन गरिरहँदा बाहिर भण्डारीको पत्र वितरण गरिएको थियो । केही प्रतिनिधिले पत्र बुझ्दै गरेको र कतिपयले हातमा लिएको फोटो खिचाएका छन् । संसदीय दलकी सचेतक सुनिता बरालको हातमा पनि पूर्व उपाध्यक्षको पत्र थमाइएको छ । 

"केही प्रतिनिधिले पत्र बुझ्दै गरेको र कतिपयले हातमा लिएको फोटो खिचाएका छन् ।"

पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशनको पूर्वसन्ध्यामा हिजो साँझ प्रतिनिधिहरुलाई सम्बोधन गर्दै एक पत्र सार्वजनिक गरेकी थिइन् । पत्रमा सदस्यता खारेज गर्ने पार्टीको निर्णयप्रति असन्तुष्टि जनाइएको छ । 

‘पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय हो', भण्डारीको गुनासो छ, 'यस्तो प्रश्न मेरानिम्ति मात्र होइन कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो ।’

यता, अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट महाधिवेशन अवधिभर फोटो खिच्न नपाउने कडिकडाउ निर्देशन भए पनि प्रतिनिधिहरूले पूर्णत: अवज्ञा गरेको अवस्था छ । प्रतिनिधिहरूले पोज-पोजमा खिचेका फोटो सञ्जालमा छ्याप्छ्याप्ती पारेका छन् ।

टिप्पणीहरू