फेसबुक बन्द भएपछि टिकटकमा ‘नेपो बेबी’ ट्रेण्ड,भोलि संसद भवन घेराऊ

फेसबुक बन्द भएपछि टिकटकमा ‘नेपो बेबी’ ट्रेण्ड,भोलि संसद भवन घेराऊ

फेसबुक र युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द भएसँगै टिकटक प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । नेपालमा गत वर्ष दर्ता भएको यो प्ल्याटफर्ममा युवापुस्ताको आक्रामक उपस्थिति देखिएको हो । 

उनीहरुले भ्रष्टाचारविरुद्ध ‘ह्यासट्याग’ अभियान नै चलाएका छन्,जसलाई ‘नेपो बेबी’ ट्रेण्ड भनिएको छ । यो अभियानमा जेनजी पुस्ताको उपस्थिति देखिन्छ । 

विभिन्न राजनीतिक दलका नेताहरुलाई ‘भ्रष्टाचारी’ ठहर गर्दै उनीहरुको परिवारको तस्वीरसमेत सार्वजनिक गरिएको छ । ‘भ्रष्टाचारविरुद्ध युवा एकता’ भन्दै जेन्जीजेनजीले भोलि संघीय संसद भवन घेराउ गर्ने तयारी छ । 

प्रदर्शनको नेतृत्व कसले गरेको हाे, त्यसबारे केही खुलाइएको छैन । तर टिकटकमा धमाधम फोटो तथा भिडियो शेयर गर्दै भोलि बानेश्वरमा भेला हुन भनिएको छ । 

‘हामी जेन्जी पुस्ता हौँ,अब मूर्ख हुन चाहन्नौँ’, ‘भ्रष्टाचारविरुद्ध युवाहरु जागौँ’, ‘अब पर्खिने होइन,एक्सन लिऔँ’,‘हाम्रो भविष्य खतरामा नपारौँ’ जस्ता नारासहित अभियानको फोटो र भिडिओ प्रचार गरिरहेको देखिन्छ । 

बंगलादेश मोडलको आन्दोलन भन्दै जेनजी पुस्ताले प्रदर्शन घोषणा गरेपछि काठमाडौं जिल्ला सुरक्षा समितिको बैठक बस्न लागेको छ । संसद भवन घेराउ गर्ने कार्यक्रम सार्वजनिक भएकाले सम्भावित सुरक्षा खतरालाई मध्यनजर गरेर साँझ बैठक बस्न लागेको हो ।

टिप्पणीहरू