पूर्व राष्ट्रपतिलाई रोक्न विधानमै व्यवस्था गर्न प्रस्ताव

पूर्व राष्ट्रपतिलाई रोक्न विधानमै व्यवस्था गर्न प्रस्ताव

नेकपा एमालेमा पूर्व राष्ट्रपतिलाई राजनीतिमा प्रतिवन्ध लगाउन विधानमै व्यवस्था गर्नुपर्ने आवाज उठेको छ । गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन आज धारणा राख्ने संस्थापन निकट प्रतिनिधिले राष्ट्रपति र उपराष्ट्रपति भैसकेका व्यक्तिलाई राजनीतिमा आउन रोक लगाउने गरी विधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, मधेसका अध्यक्ष चण्डेश्वर मण्डललगायतका अधिकांश प्रतिनिधिले आफ्नो समूहको छलफलको निचोड सुनाउँदै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति र संवैधानिक अंगका प्रमुख भईसकेकाहरूलाई राजनीतिमा आउन नदिनका लागि पार्टी नेतृत्वलाई सुझाव दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

शहीद परिवारको राजनीतिक प्रतिनिधित्व बढाउन र पार्टीमा नेता-कार्यकर्ताको मूल्यांकनका लागि वैज्ञानिक परिपाटी विकास गरिनुपर्ने धारणा पनि उनीहरुले राखेका छन्  ।

‘लुम्विनी प्रदेशको तर्फबाट अध्यक्ष राधाकृष्ण कँडेलले आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । गण्डकी प्रदेशमा अध्यक्ष नभएको हुनाले कार्यबहाक अध्यक्ष मीनप्रसाद गुरुङले आफ्नो कुराहरु राख्नुभयो', गौतमले भने, 'बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले राष्ट्रपति, उपराष्ट्रपतिहहरुलाई विधानमा नै व्यवस्था गरेर राजनीतिमा आउन नपर्ने व्यवस्था गर्नुपर्ने भनाई राख्नुभयो । केही साथीहरु संख्या तोकेर भन्दा १४ जना साथीहरुको भनाई चाँही आउन दिनुपर्ने भन्ने थियो ।'

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्तावमाथि छलफल गर्न बनाएको १० वटा समूहका नेताहरुले सुझाव पेश गरिसकेका छन । अध्यक्ष ओलीले  त्यहाँ उठेका जिज्ञासाको जवाफ दिँदै दिएपछि आज महाधिवेशन समापन हुने कार्यसूची छ ।

टिप्पणीहरू