सामाजिक सञ्जाल बन्दबारे देउवा निवासमा छलफल

सामाजिक सञ्जाल बन्दबारे देउवा निवासमा छलफल

सत्तारुढ नेपाली कांग्रेस फेसबुक, युटुब लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विपक्षमा उभिएको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरूले सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल बन्द गरेर मात्रै समस्याको समाधान नहुने भन्दै नेता अर्जुननरसिंह केसीले यसबारे सरकारसँग कुरा गर्नुपर्नेमा जोड दिए । 

यो विषय बैठकमा उठेको उनले जानकारी दिए । सरकारको गलत काममा कांग्रेसले हस्तक्षेप गर्नुपर्ने केसीको भनाइ छ । यद्यपि सामाजिक सञ्जाल संसारका सबै देशमा दर्ता हुने तर नेपालमा दर्ता हुन नआउने कुरा पनि ठिक नभएको जिकिर उनले गरे ।

‘सामाजिक सञ्जाल प्रभावकारी रुपले अहिले सञ्चालन भइरहेको छ । नेपाली जनताको दुःखसुखको साथीको रुपमा छ । सामाजिक सञ्जाल राजनीतिक रुपमा मात्रै छैन । यसले कुनैपनि रुपमा बिरामी पर्दा सहयोग नपाएर बस्दा सहयोग पाउने, विपद् सूचना संप्रेषणका लागि एउटा माध्यमका रुपमा पनि छ’, केसीले उनले भने, ‘यो एउटा सशक्त माध्यमको रुपमा छ । अभिछिन्न स्वतन्त्रतालाई अपहरण गर्ने काममा नेपाली काँग्रेस मुकदर्शक हुनु हुँदैन । यसमा बाटो खोज्नुपर्छ । सामाजिक सञ्जाल संसारका सबै देशमा दर्ता भएको छ, नेपालमा दर्ता गर्न अटेर गर्नु हुँदैन । कुराकानी गरेर समस्या समाधान गर्नुपर्छ ।’

आफ्नै समेत सहभागी सरकारले सामाजिक सञ्जाल बन्द गर्दा बाहिर खुलेर विरोध गर्न नसकेको काँग्रेस नेताहरुले भित्रि छलफलमा भने असन्तुष्टि जनाउने गरेका छन् । सञ्जाल नियमन आवश्यक भए पनि बन्द गर्न नहुनेमा कांग्रेसको जोड रहने गरेको छ ।

सहमहामन्त्री डिना उपाध्यायले आजको बैठकमा यो विषय उठेको बताइन् । यसबारे पार्टीले औपचारिक धारणा बनाउने उनले जानकारी दिइन् ।

टिप्पणीहरू