दुर्गा प्रसाईंलाई आजै ‘नो इन्ट्री’ को चेतावनी
जेन जी युवाहरूको भोलिको आन्दोलनमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रवेशमा रोक लगाइएको छ । प्रसाईंको विगत र पृष्ठभूमिलाई विचार गर्दै जेन जी युवाका अगुवाहरूले आन्दोलनमा सहभागी हुन नदिने निर्णय गरेका हुन् ।
सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि ‘नेपो बेबी’ ट्रेन्ड चलाएर एकताबद्ध भएका जेन जी युवाहरू भोलि माइतीघरमा प्रदर्शन गर्दैछन् । यसअघि भ्रष्टाचारविरुद्ध युवा एकताको नारा दिँदै संसद घेराउ गर्ने योजना बनेको थियो, तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरदेखि नयाँ बानेश्वरको एभरेष्ट होटलसम्म मात्र प्रदर्शनको अनुमति दिएको छ ।
जेनजी युवाहरूले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेपछि व्यवसायी प्रसाईंले बिहान भने, ‘मैले खोजेको पनि यस्तै आन्दोलन हो’ भन्दै प्रदर्शनमा सहभागी हुने बताए । तर, चैत १५ गते तीनकुने घटनाको मुख्य पात्र मानिएका प्रसाईंलाई जेनजी अगुवाहरूले फोन गरेर आन्दोलनमा नआइदिन भनेको बताइएको छ ।
भोलिको कार्यक्रमको तयारीका लागि आज केही जेन जी युवाहरू माइतीघरमा भेला भएर छलफल गरेका थिए। सो क्रममा प्रसाईंलाई फोन गरेर ‘यो जेन जी आन्दोलन हो, तपाईं आउन मिल्दैन’ भनिएको एक युवाले जानकारी दिए। उनका अनुसार आन्दोलनमा सहभागी हुन कसैलाई रोक लगाइएको छैन, तर प्रसाईंलाई उनको पृष्ठभूमिको आधारमा नआउन भनिएको हो । ‘पहिलो कुरा, यो २८ वर्षमुनिका युवाहरूको आन्दोलन हो, उहाँ (प्रसाई) आउन मिल्दैन’, ती युवाले भने। ‘उहाँको पृष्ठभूमि पनि ठीक छैन, उहाँकै कारण प्रदर्शनमा कुनै अप्रिय घटना नहोस् भनेर हामीले नआइदिन अनुरोध गरेका छौँ।’
यससँगै, तीनकुने प्रकरणमा डेढ महिना हिरासत र दुई महिना कारागार बसेका प्रसाईंको भोलिको आन्दोलनमार्फत् सहानुभूति बटुल्ने सपनामा ब्रेक लागेको छ। जेन जी आन्दोलनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह, अभिनेता अनमोल केसी, गायक शिव परियारसहित विभिन्न कलाकारहरूले समर्थन गरेका छन् ।
टिप्पणीहरू