आन्दोलनकारीले ध्वस्त पारेको एटिएमभित्र १८ लाख
आन्दोलनकारीहरुले आगो लगाएर ध्वस्त बनाएको माछापुच्छ्रे बैंकको एटिएम मेसिनमा झण्डै १८ लाख रुपैयाँ भेटिएको छ । जेन–जी समूहले आन्दोलनको क्रममा चितवनको भरतपुर–१० मा रहेको माछापुच्छ्रे बैंकको एटिएम मेसिनमा समेत आगजनी र तोडफोड गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रबिन्द्र खनालका अनुसार त्यसमा १७ लाख ७९ हजार रुपैयाँ भेटिएको छ । मालपोत कार्यालय परिसरभित्र रहेको बैंकको एटिएम मेसिनमा आन्दोलनकारीले गत मंगलबार आगजनी र तोडफोड गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
आज बैंक र स्थानीय जनप्रतिनिधिसमेतको रोहवरमा मेसिन खोली हेर्दा उक्त रकम भेटिएको डीएसपी खनालले बताए । सो रकम बैंकका प्रतिनिधिलाई नै जिम्मा लगाइएको छ ।
– अजय गोर्खाली
टिप्पणीहरू