नेपाली काँग्रेस संसद् विघटनको विपक्षमा

नेपाली काँग्रेस संसद् विघटनको विपक्षमा

नेपाली काँग्रेसले संसद् विघटनको विपक्षमा उभिने निर्णय गरेको छ । गएराति बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठकले उक्त निर्णय गरेको बताइएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा संसद् विघटनको घटना संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्या विपरीत रहेको उल्लेख छ । ‘संसद् विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको व्याख्या विपरीत छ, संविधानसम्मत कतैबाट पनि छैन,’ विज्ञप्तिमा लेखिएको छ ।

विघटनको निर्णयले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको र अर्कातर्फ जेन–जी आन्दोलनको भावना र मर्मलाई क्षति पुर्याएको काँग्रेसको निश्कर्ष छ । कांँग्रेसले संविधान भित्रैबाट आन्दोलनकारीको प्रस्तावलाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने स्मरण गराएको छ ।

संविधान र लोकतान्त्रिक प्रक्रियाबाट विद्यमान बेथिति अन्त्य गर्दै मार्गचित्र तय गर्न पार्टीको साथ रहने प्रतिबद्धता जनाउँदै काँग्रेसले सहमतिपूर्वक अघि बढ्न सकिने अवस्था रहँदा रहँदै संविधानविपरीत निर्णयमा पुग्नु दुःखद भएको निचोड निकालेको छ ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कार्यसम्पादन समिति बैठकमा सातै प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरू सहभागी थिए ।

टिप्पणीहरू