कुलमान र कान्छारामको दोस्ती देखेर सबै दंग

कुलमान र कान्छारामको दोस्ती देखेर सबै दंग

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री बनेर आज मन्त्रालय पुग्दा सबैभन्दा बढी खुशी देखिए, नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ उर्फ कान्छाराम । 

घिसिङ प्राधिकरणको जिम्मेवारीमा रहँदा तामाङ उर्जा राज्यमन्त्री थिए । डेडिकेटेड तथा ट्रंकलाइनको अबौँ बक्यौता रकम उठाउन घिसिङले प्राधिकरणको तर्फबाट चालेका हरेक कदममा सहयोग गरे । तत्कालीन उर्जामन्त्री दीपक खड्काले बारम्बार स्पष्टीकरण सोधेर घिसिङलाई अवरोध सिर्जना गरे पनि तामाङले प्रत्यक्ष रुपमा भेटेर र मिडिया मार्फत् हौसला दिइरहे, ‘एक रुपैयाँ नछाड्नुस्, तिर्न मान्दैनन् भने लाइन काट्दिनुस् ।’

तर, केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत चैत ११ गते घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरिछाड्यो । बर्खास्तीपछि तत्कालीन सरकारमै रहेका उर्जा राज्यमन्त्री तामाङले ओली र खड्काको खुलेरै चर्को आलोचना गरे । पार्टीका बैठकमा होस् वा संसद भवन परिसरमा, उनले एउटै तर्क राखिरहे, ‘कुलमानमाथि ठूलो अन्याय भयो ।’

घिसिङको विषयलाई लिएर तत्कालीन प्रधानमन्त्री ओलीको आलोचना गरेपछि तामाङ स्वयं पनि गत वैशाख १० गते उर्जा राज्यमन्त्री पदबाट बर्खास्त हुन पुगे । र, पनि पद गुमाएकाेमा कुनै पछुताे मानेनन् ।  बर्खास्त भएलगत्तै उनले जनआस्थासँग भनेका थिए, ‘मैले बालुवाटार गएर माफी माग्नुपर्ने रे, मैले किन माग्ने ? एउटा तामाङको छोरोमाथि अन्याय भयो भन्दा मेरो पद जान्छ भने जाओस्, तर ओलीसँग त म माफी माग्दै माग्दैन !’

संयोग नै मान्नुपर्छ, आज घिसिङ उर्जामन्त्री बनेर मन्त्रालय पुग्दा तामाङ स्वागतका लागि कुरिरहेको देखियाे । दुवै जना प्रफुल्ल मुद्रामा हाँस्दै हात मिलाए । घिसिङ जति खुशी देखिन्थे, त्यो भन्दा बढ्ता खुशी थिए तामाङ । 

एकछिनको गफपछि घिसिङ जाँदै गर्दा तामाङले साढे ६ महिनाअघिको त्यही कुरा दोहोर्याए, ‘अब सबै बक्यौता उठाउनुस् नि !’ जवाफमा घिसिङले पनि तामाङको पुरानो प्रेरणा सम्झिदै मुस्कानसहित भने, ‘एक रुपैयाँ पनि छाड्दिनँ !’

नजिकै उभिएका सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी र नागरिकहरु यी दुई जनाको भलाकुसारी सुनेर नतमस्तक बनेको देखियो । 

स्मरण रहोस्, घिसिङले उर्जामन्त्रीको पदभार सम्हालेलगत्तै बक्यौता रकम उठाउने पहिलो निर्णय गरिसकेका छन् । र, उनले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई समेत निर्देशन दिइसकेको बताइएको छ ।

टिप्पणीहरू