बेलबारी जनप्रतिनिधिविहीन, बियर चोर्नेहरूको तस्बिर छरपस्ट
मोरङको बेलबारी नगरपालिकाका अधिकांश जनप्रतिनिधिले आफ्नो पार्टी र पद दुवैबाट राजीनामा दिएका छन् । जेन जी ध्वंशले गरेको सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको आन्दोलनलाई समर्थन गर्दै उनीहरुले राजीनामा दिएका हुन् । जनप्रतिनिधिहरुले कलिला बालबालिकाको हत्या र बर्बर दमनको विरोध गर्दै जिम्मेवारीबाट पन्छेको बताएका छन् ।
राजीनामा दिनेहरूमा मेयर दिलप्रसाद राई, उपमेयर नितु थापा कोइराला, बेलबारी–१ का वडाध्यक्ष मणि पुलामी, बेलबारी–२ का एमाले वडाध्यक्ष कृष्ण गुरुङ, वडा–३ का वडाध्यक्ष योगप्रसाद सुवेदी, बेलबारी–४ का कांग्रेस वडाध्यक्ष चन्द्र लिम्बू, बेलबारी–७ की एमाले वडाध्यक्ष सुनिता चौधरी, बेलबारी–९ का कांग्रेस वडाध्यक्ष शालिकराम बस्नेत र बेलबारी–११ का वडाध्यक्ष विक्रम बान्तवालगायत रहेका छन् । धेरैजसो वडा सदस्यहरूले पनि फेसबुकमार्फत् राजीनामा दिएका छन् ।
बेलबारीमा नगरपालिका र केही वडासहित पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड भएको छ । जिद्दी र एक्लाकाँटे भनेर चिनिने मेयर दिलप्रसाद राईले सार्वजनिक सम्पत्ति तोडफोड गर्नेहरूमाथि कारबाही भए मात्र आफू राजीनामा फिर्ता लिएर नगरपालिका फर्किने अडान लिएका छन् ।
त्यसैगरी, बेलबारी नगरपालिकाका पूर्व मेयर तथा कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले पनि फेसबुकमार्फत राजीनामा दिएका छन् । फेसबुकमै राजीनामा लेखेकी सुन्दरहरैंचाकी उपमेयर अकली चौधरी भने आइतबारदेखि फेरि नगरपालिका आउन थालेको खबर छ ।
घर र नगरपालिका जलाए पनि मेयर केदार गुरागाईंले भने राजीनामा दिएका छैनन् । सुन्दरहरैंचामा आन्दोलनकारीले पूर्व मेयर शिव ढकालको घरसमेत जलाएर ध्वस्त पारेका छन् ।
होटल जलाएर लुट्नेहरूको पहिचान खुल्दै
पूर्वको एउटा ग्रामीण बजारमा थ्री–स्टार होटल सञ्चालन गर्दै आएका उद्योगपति भोला दुलालको ‘नेपालीरिका होटल’ पनि २४ गते जलाएर ध्वस्त पारिएको छ । त्यसदिन होटलबाट बियर र अन्य सामान चोर्नेहरूको तस्बिर होटल प्रशासनले सार्वजनिक गर्न थालेको छ ।
टिप्पणीहरू