जेन जी विध्वंश : मुलुक र जनतामा समर्पित प्रहरी सर्वाधिक पीडित

जेन जी विध्वंश : मुलुक र जनतामा समर्पित प्रहरी सर्वाधिक पीडित

प्रहरी र नागरिक एक रथका दुई पाङ्ग्राजस्तै हुन् । प्रहरीबिना शान्तिपूर्ण र सुरक्षित समाजको कल्पनासमेत गर्न सकिँदैन । प्रहरी बलियो भएमा मात्र राष्ट्र सुरक्षित हुन्छ । प्रहरीले दिनरात नभनी ड्युटी गरेकाले सर्वसाधारणले राति ढुक्कसँग आफ्नै घरमा निदाउन सकेका छन् ।

तर विडम्बना, त्यसको बद्लामा प्रहरीले कुटाइ र गाली पाएका छन् । भदौ २३ र २४ गते भएको जेन–जी विध्वंशमा नेपाल प्रहरी नै सबैभन्दा बढी पीडित बनेको छ । आन्दोलनकारीले मानवता बिर्सिएपछि प्रहरीलाई कुटेर मारिएको छ । कर्तव्य निर्वाहकै क्रममा तीन जना प्रहरीले ज्यान गुमाएका छन् ।

डिएसपी भन्दै प्रहरी प्रभाग, कोटेश्वरका असई अमृत गुरुङलाई कुटेर हत्या गरिएको हो । त्यसैगरी, प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तम थापाको पनि आन्दोलनकारीको कुटपिटबाट मृत्यु भएको छ ।

झण्डै चार सय प्रहरी घाइते भएका छन् । यता, सशस्त्र प्रहरीले पनि त्यस्तै हालत भोगेका छन्— कसैको टाउको फुटेको छ, कसैको आँखा गुमेको छ । सबैभन्दा दर्दनाक दृश्य भने प्रहरीले भोग्नुपरेको यातना हो । प्रहरीलाई अर्धनग्न बनाएर काठमाडौं परिक्रमा गराइएको र अन्य अमानवीय व्यवहार गरिएको छ ।

बागमती खोलामा प्रहरीलाई दौडाएर माथिबाट ढुंगा प्रहार गरिएको थियो । ज्यान बचाउन प्रहरी बिटमा लुकेका प्रहरीलाई निकालेर मरणासन्न हुनेगरी कुटिएको छ । तुच्छ शब्दले गाली गर्दै अपमान गरियो । ज्यानमाथि खतरा आएपछि प्रहरी भाग्न बाध्य भए ।

सुकुम्बासी बने प्रहरी

आन्दोलनकारी अराजक बनेपछि प्रहरीहरु सुकुम्बासी बनेका छन् । न उनीहरूसँग छत छ, न खान र लगाउनलाई कपडा । कार्यालयमा आगजनी हुँदा उनीहरूको लत्ताकपडा सबै जलेका छन् । आन्दोलनकारीले खोजीखोजी प्रहरी कार्यालय जलाएका थिए । काठमाडौं उपत्यकाका प्रहरी कार्यालयहरू ध्वस्त छन् ।

रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी कार्यालय कोटेश्वर, सातदोबाटोस्थित ट्राफिक प्रहरी कार्यालय, प्रहरी वृत्त महाराजगञ्ज, थिमी, गौशाला लगायतका कार्यालय खरानी बनेका छन् । प्रहरी मुख्यालयका अनुसार २१८ वटा भवनमा क्षति पुगेको छ । जसमा १२२ वटामा पूर्ण क्षति र ९६ वटामा आंशिक क्षति पुगेको छ ।

त्यस्तै, प्रहरीले प्रयोग गर्दै आएको १२१ वटा सवारीसाधनमा आगजनी गरिएको छ । ती सवारीसाधन बेकामका बनेका छन् । १५८ वटा दुई पाङ्ग्रे गाडीमा पनि आगो लगाइएको छ ।

बर्दी लुटिएपछि सादा पोशाक

जेन जी विध्वंशमा धेरै प्रहरी बर्दीविहीन बनेका छन् । उनीहरूको बर्दी खोसेर आन्दोलनकारीले लगाएका हुन् । निकै संघर्षपछि पाएको बर्दीको खिल्ली उडाइएको छ । बर्दी नभए पनि प्रहरीहरु निरन्तर आफ्नो कर्तव्य निर्वाहमा खटिरहेका छन् । ट्राफिक प्रहरीहरु सादा पोशाकमै खटिएर सवारी व्यवस्थापन गरिरहेका छन् । जुत्ता नभएकाले कतिपय चप्पलमै सडकमा निस्किएका छन् ।

ब्रेथलाइजर नहुँदा ट्राफिक प्रहरीलाई मापसे जाँच गर्न समस्या भएको छ । उनीहरू बाध्य भएर मुख सुँघेर मात्र परीक्षण गरिरहेका छन् । यता, सडकका डिभाइडर, ट्राफिक बत्ती र सिसीटिभीसमेत तोडफोड र आगजनी गरिएको छ । यस्तो अवस्थामा सवारी चालकले ट्राफिक नियम पालना गरेर प्रहरीलाई सहयोग गर्नुपर्ने देखिन्छ ।

प्रहरी हुनुमा हीनताबोध

दुई दिने घटनामा भएको दुव्र्यवहारपछि प्रहरी कर्मचारीमा प्रहरी हुनुमै हीनताबोध जागेको छ । उनीहरूको मनोबल गिरेको छ । सामाजिक सञ्जालमा स्टाटस लेखेर उनीहरूले दुःख पोखिरहेका छन् । 

एक जना प्रहरी कर्मचारीले लेखेका छन्, ‘प्रहरी भएकै कारण मान्छे मानिएन । संगठन र यसका सदस्यले आफ्नो कर्तव्य पालना गर्दै आएका छन् । प्रहरी राष्ट्र र कानुनप्रति प्रतिबद्ध छ । प्रहरी बिनाको समाजको कल्पना गर्न सकिँदैन । यदि प्रहरी हार्दा राष्ट्र जित्छ भने प्रहरी बारम्बार हार्न तयार छ ।’

अर्का एक प्रहरी भन्छन्, ‘प्रहरी सबैलाई चाहिने तर कसैलाई मन नपर्ने हुन्छ ।’ कतिपयले त भिडियो बनाएर आफ्ना पीडा व्यक्त गरिरहेका छन् ।

प्रहरी कार्यालय उठाउँदै स्थानीय

अराजकताले प्रहरी कार्यालय जलाए पनि स्थानीयले फेरि पुनःनिर्माण गर्न थालेका छन् । आफ्ना टोलका चौकी र बिटहरू स्वस्फूर्त रूपमा मर्मत भइरहेका छन् । स्थानीयले सक्दो सहयोग गरेर प्रहरीलाई पुनःस्थापित गराइरहेका छन् ।

कतिपय ठाउँमा त स्थानीयले फूलमालाले प्रहरीको स्वागत गरेका छन् । प्रहरी वृत्त भैंसेपाटीमा केही दिनअघि स्थानीयले फूलमालासहित स्वागत गरेर प्रहरीलाई कार्यालय फर्काएका थिए । अन्य ठाउँमा पनि प्रहरीलाई कार्यालय फर्काउने अभियान चलिरहेको छ ।

प्रहरीलाई विस्थापित गर्ने अपराधी हुन् : आईजीपी खापुङ

नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङले प्रहरीलाई विस्थापित गर्न खोज्ने अपराधी भएको बताएका छन् । उनले प्रहरीलाई अपूरणीय क्षति पुगेको बताउँदै नियमित कार्य सञ्चालनमा कठिनाइ भएको बताएका छन् ।

एउटा भिडियो सन्देशमार्फत उनले भनेका छन्, ‘घटनाक्रमले नेपाल प्रहरी अत्यधिक प्रभावित भएको छ । हाम्रा कार्यालय जलेर ध्वस्त भएका छन् । सवारीसाधन र पोशाक जलेका छन्, हराएका छन् । जसका कारण नियमित कामकाजमा फर्कन कठिनाइ भइरहेको छ ।’

त्यसैगरी, उनले विषम घडीमा प्रहरीलाई कार्यालय फर्काउन आम समुदायले गरेको सहयोगको प्रशंसा गरेका छन् ।

टिप्पणीहरू