राजनीतिक दलहरु एकजुट भएर संविधान दिवस मनाउँदै
इलामस्थित पाँच राजनीतिक दलले भव्य रुपमा संविधान दिवस मनाउने भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले बिहान ११ बजे जिल्ला सदरमुकाम रत्न चोकमा भेला भएर भोलि संविधान दिवस मनाउन लागेका हुन् ।
संविधान दिवसको मूल नारा ‘सम्पूर्ण गणतन्त्रवादी शक्ति एक हौं, संघीय लोकतान्त्रिक संविधानको रक्षा गरौं’ रहेको छ । पाँच दलले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी कार्यकर्ताहरुलाई कार्यक्रममा उपस्थिति जनाउन आह्वान गरेका छन् । त्यसैगरी, उनीहरुले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान रक्षाका लागि सबै राजनीतिक दललाई एकताबद्ध भएर अगाडि बढ्न पनि भनेका छन् ।
‘यस्तो विषम परिस्थितिमा स्थानीय स्तरमा विगतका सबै राजनीतिक आग्रह पूर्वाग्रहलाई बिर्सँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान रक्षाका लागि सबै राजनीतिक दलहरु एकताबद्ध भएर जान अनुरोध गर्दछौं’,विज्ञप्तिमा उल्लेख छ । भदौ २३ र २४ गते भएको जेन–जी विध्वंशले त्रसित इलामबासीलाई सामान्य अवस्थामा फर्काउन आफूहरु प्रतिबद्ध भएर लाग्ने पनि उनीहरुले बताएका छन् ।
टिप्पणीहरू