संकलित चन्दा ट्राफिक प्रहरीलाई, यसअघिको हल्ला निराधार : एनआरएनए अध्यक्ष

संकलित चन्दा ट्राफिक प्रहरीलाई, यसअघिको हल्ला निराधार : एनआरएनए अध्यक्ष

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जेन–जी आन्दोलनका क्रममा ध्वस्त पारिएका उपत्यकाका ट्राफिक प्रहरी सिसिटिभी नियन्त्रण कक्ष र निगरानी प्रणाली पुनःनिर्माणका लागि चन्दा संकलन सुरु गरेको दाबी गरेको छ। संघले भदौ २४ गतेको प्रदर्शनमा अराजक समूहले क्षति पुर्याएको सडक सुरक्षा संयन्त्र पुनःसञ्चालन गर्न आर्थिक सहयोग जुटाउने उद्देश्य लिएको जनाएको छ ।

यसअघि जनआस्थामा प्रकाशित एक समाचारमा संघका अध्यक्ष महेश श्रेष्ठले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको घर बनाइदिन निजी बैंक खातामार्फत चन्दा संकलन गरेको उल्लेख थियो। तर, संघले उक्त समाचार असत्य भएको दाबी गर्दै संकलन सडक सुरक्षाको संयन्त्रका लागि गरिएको स्पष्ट पारेको छ।

संघका प्रवक्ता गंगाधर गौतमले विज्ञप्ति जारी गर्दै, “संकलित रकमबाट पहिलो चरणमा सडक सुरक्षा संयन्त्रलाई सहयोग गर्नेगरी सम्बन्धित निकायसँग समन्वय भइरहेको छ,” भनेका छन्।

संघका अध्यक्ष श्रेष्ठले पनि ‘उपत्यकाको ट्राफिक प्रहरी सिसिटिभी नियन्त्रण कक्ष पुनःनिर्माण अभियानमार्फत करिब ७४ लाख संकलन गर्ने योजना बनाइएको’ बताए। यो अभियानबारे औपचारिक घोषणा पर्सि शनिबार बस्ने संघको कार्यसमिति बैठकपछि हुने उनले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले आफूविरुद्ध विरोधी समूहले गलत प्रचार गरिरहेको आरोप लगाउँदै भने, “हाम्रो योगदान विशुद्ध सार्वजनिक हितमा केन्द्रित छ। सडक सुरक्षा र निगरानी प्रणाली बलियो हुनु देशको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएको कुरा हो। मातृभूमिप्रतिको दायित्वअनुसार हामी यस अभियानमा लागेका हौँ। अहिलेको अवस्थामा सकेको सहयोग सबै राज्यका क्षतिग्रस्त संरचना पुनर्निर्माणमा लगाउँछौं ।” कुनै नेता वा व्यक्ति विशेषको घर पुनर्निर्माण गर्ने हल्लामा कुनै सत्यता नरहेको उनको दाबी छ ।

टिप्पणीहरू