विध्वंसकारीको निसानामा सञ्चार क्षेत्र, विदेशी पत्रकार पनि पीडित
जेन–जी आन्दोलनको नाममा गत साता भएको विध्वंसले निजी क्षेत्रलाई ठूलो भौतिक र आर्थिक क्षति पुर्याएको छ । भदौ २३ गते माइतीघर मण्डलाबाट शुरु भएको शान्तिपूर्ण आन्दोलन नयाँ बानेश्वर आइपुग्दा एकाएक हिंसात्मक र ध्वंशात्मक बन्यो । त्यसविरुद्ध भोलिपल्ट हिँसा मच्चिंदा ठूलो धनजनको क्षति भएको छ ।
विध्वंसकारीले अन्धाधुन्ध आगजनी गर्दा प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित संसद् भवन, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, सडक विभाग, यातायात व्यवस्था विभागलगायत सयौं सरकारी कार्यालय खरानीमा परिणत भएको छ । त्यसैगरी, निजी क्षेत्रको लगानी रहेको दर्जनौं कार्यालय, उद्योगहरु पनि ध्वस्त भएका छन् ।
यसक्रममा मिडिया क्षेत्र पनि निशानामा पर्यो । आक्रमणकारीले टार्गेट गरिगरि मिडिया हाउस तोडफोड गरे । थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपसहित तीनकुनेस्थित टेलिभिजन, अन्नपूर्ण, न्यूज २४ र थाहाखबरलगायत दर्जनौं मिडियाको कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । कान्तिपुरको कार्यालय खण्डहर नै बनेको छ ।
उपत्यकाबाहिर चितवनको सफल खबर डटकम र चुरे सन्देशको कार्यालयमा लुटपाट र आगजनी भएको छ । कालिका एफएममा तोडफोड गरी सञ्चार सामग्री जलाइएको छ । पत्रकार सन्तोष देउजाको घरमा लुटपाट र आगजनी भएको छ । घर ध्वस्त भएपछि उनी डेरामा सरेका छन् ।
आन्दोलनकारीले प्राइम टेलिभिजनको भ्यान जलाएका थिए । सिंहदरबारमा पार्किङ्ग गरेर राखिएको हिमालय टाइम्सका ब्युरो सदस्य सन्तोष अर्यालको कारमा विध्वंसकारीले आगो लगाए । नेपाल टेलिभिजनको ‘बागमती बी एए ८३४७’ र ‘बागमती बि एए ८३५०’ नम्बर भएको भ्यानमा तोडफोड भयो । कैलालीका पत्रकार दिपेन्द्र भट्टको मोटरसाइकल पनि नष्ट भएको छ ।
नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिका महासचिव रामप्रसाद दाहालले सञ्चारमाध्यमको कार्यालयमाथि भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताए । ‘कान्तिपुर र अन्नपूर्णमा आगजनी नै भयो । थाहाखबरको कार्यालयमा तोडफोड भएको छ भने जिल्लामा पनि यस्ता घटना व्यापक घटेका छन् । हामी विवरण संकलन गरिरहेका छौं’, जनआस्थासँग उनले भने ।
प्रेस स्वतन्त्रता हननका घटना अत्याधिक
दुई दिने प्रदर्शनका क्रममा प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने काम भयो । भक्तपुरको सूर्यविनायक चोकमा रहेको भादगाउँ टेलिभिजनका पत्रकार तुलसीकुमार त्यावनामाथि आन्दोलनकारीले भौतिक आक्रमण गरेका थिए । नागरिक दैनिकका पत्रकार कृष्ण केसीले खिचेको भिडियो तथा फोटो सुरक्षाकर्मीले जबरजस्ती डिलिट गर्न लगाए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निजी निवासमा रिपोर्टिङका लागि पुगेका महासंघको भक्तपुर कार्यसमिति सदस्य सुदर्शन आचार्य कुटिए । आन्दोलनकारीले टेलिभिजनको गाडी तोडफोड गर्दा उनलाई सिसाको टुक्राले लागेको थियो । पत्रकार केशव तिमिल्सिनालाई फोटो तथा भिडियो खिच्न रोक लगाइयो ।
सम्वेगन्यूज डटकमका पत्रकार निरज निश्चलमाथि पनि आन्दोलनकारीले हातपात गरे । उनको क्यामेरामा पनि आगो झोसियो । त्यसपछि कोहलपुर नगरपालिकाको कार्यालयमा लुकेका उनले त्यहाँ आगजनी गरिएपछि छतबाट हाम्फालेर ज्यान जोगाएका हुन् । महासंघको काभ्रेपलाञ्चोक शाखाका पूर्वअध्यक्ष मोतिराम तिमिल्सिनाको घरअगाडि बम नै राखिएको थियो ।
आक्रमणकारीको निसानामा विदेशी पत्रकार पनि परे । रिपोर्टिङका लागि आएका भारतीयसहित विभिन्न देशका पत्रकारलाई फिल्डमै हातपात भयो ।
महासंघको भवन तोडफोड
महासंघको सप्तरी शाखाको भवनमा तोडफोड भएको छ । आन्दोलनकारीले ढुंगामुढा प्रहार गर्दा सिसा फुटेको छ । यता, बबरमहलस्थित प्रेस सेन्टरको कार्यालयमा आगो लगाइएको छ । महासंघका महासचिव दाहाल पत्रकारहरु धेरै नै पीडित बनेको बताउँछन् ।
‘जुन आन्दोलन भयो, त्यसमा पत्रकारहरु धेरै नै पीडित बने । प्रेस स्वतन्त्रताको रक्षा र दोषीहरुमाथि कारबाहीका लागि महासंघले सरोकारवाला निकायसँग माग गरेको छ’,उनले भने ।
अन्तर्राष्ट्रिय संस्थाले जनायो आपत्ति
आन्दोलनको नाममा सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको नियोजित आक्रमणप्रति अन्तर्राष्ट्रिय संघसंस्थाले समेत आपत्ति जनाएका छन् । रिपोटर्स विदआउट बोडर्सले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
संस्थाले पत्रकारमाथिको आक्रमण अस्वीकार्य भएको स्पष्ट पारेको छ ।
टिप्पणीहरू