पार्टी रुपान्तरणका लागि तोसिमाको चार बुँदे प्रस्ताव
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य डा.तोसिमा कार्कीले पार्टी पुनर्गठनका लागि चार बुँदे प्रस्ताव अघि सारेकी छन् ।
पार्टीको नेतृत्व, नीति, कार्यक्रमलगायत सबै आयाममा पुनरावलोकन, पुनःमूल्यांकन र पुनःसंरचना गर्नुपर्ने उनको धारणा छ । मुलुकको वर्तमान र भविष्यलाई नेतृत्व गर्नसक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता रहेको उल्लेख गर्दै उनले मध्यममार्गी राजनीतिक शक्ति निर्माणको उपयुक्त समय अहिले भएकाले पार्टी रुपान्तरण गरेर अघि बढ्नुपर्ने मत राखेकी हुन् ।
कार्यवाहक सभापति डिपी अर्यालसमक्ष चार बुँदे प्रस्ताव राख्दै उनले जेन–जी आन्दोलनको आकांक्षाबमोजिम पार्टीको अर्थपूर्ण रुपान्तरणको प्रक्रिया शुरु गर्न सुझाव दिएकी छिन् । नयाँ नेपाल निर्माण गर्ने यात्रामा जनताबाट सुशासनको म्याण्डेटसहित अघि बढ्न मुख्य शक्तिको रुपमा पार्टीलाई विकास गर्न आवश्यक रहेको उनको ठहर छ ।
‘देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो । यसका लागि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको पनि रुपान्तरण आवश्यक हुन्छ । पार्टीको नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम आदि सबै आयामको पुनरावलोकन, पुनः मूल्यांकन र पुनःसंरचना गरेर आजको समयले खोजेको मध्यममार्गी राजनीतिक शक्ति निर्माणको लागि अहिले नै उपयुक्त समय हो’,पत्रमा उल्लेख छ ।
त्यसैगरी, उनले पुरानो अवस्थालाई चिरेर सुधारात्मक परिवर्तन गर्ने सोच्न आत्मसात् गर्नुपर्ने, सबै वर्गका पीडा र भविष्यका अपेक्षालाई तत्कालै सम्बोधन गर्नुपर्नेलगायतका प्रस्ताव अघि सारेकी छिन् ।

टिप्पणीहरू