जेन-जीको नाममा संविधान जलाउन खोज्दा प्रहरीको हस्तक्षेप

जेन-जीको नाममा संविधान जलाउन खोज्दा प्रहरीको हस्तक्षेप

जेन-जी आन्दोलनका मृतकको सम्झनामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा संविधान जलाउने प्रयास प्रहरीले रोकेको छ । 

'राष्ट्रवादी राजनितिक जनजागरण अभियान' को ब्यानरमा आज दिउँसो राजावादीहरूले माइतीघर मण्डलामा कार्यक्रम आयोजना गरेका थिए । त्यसक्रममा उनीहरुले 'राजा आऊ देश बचाऊ' भन्दै संविधान जलाउन खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो । 

जेन-जी प्रदर्शनको पहिलो दिन गत भदौ २३ गते संसद भवन अगाडि पारुहाङ्ग कुथुमी राईको गोली लागेर निधन भएको थियो । बताइएअनुसार उनी उक्त अभियानको केन्द्रीय संयोजक थिइन् । 

स्व. राईको आज १२ औँ दिनको पुण्य तिथि पारेर राजावादीहरूले खुला श्रद्धाञ्जली कार्यक्रम राखेका हुन् । कार्यक्रममा आफूलाई सन्तोष राजावादी भनाउने सन्तोष सिलवाल, माया पाण्डे, शंकर मजगैया, हेमसागर बिद्रोही, कुमार बस्नेतलगायतको उपस्थिति थियो । 

श्रद्धाञ्जली सभामा 'हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ', 'हिन्दू राष्ट्र कायम गर', 'बाइबल संविधान खारेज गर', जस्ता नारा लगाउँदै नेपालको संविधान २०७२ लेखिएको कागज जलाउन खोजेपछि प्रहरीले नियन्त्रण लिएको बताइएको छ ।
 

टिप्पणीहरू