नयाँ परिवेसमा नेकपा एसले बदल्यो निष्कर्ष

नयाँ परिवेसमा नेकपा एसले बदल्यो निष्कर्ष

तत्काल कुनै पार्टीसँग एकता नगर्ने बताउँदै आएको नेकपा एकीकृत समाजवादीले जेन-जी आन्दोलनका नाममा भएको विध्वंसपछि नयाँ निष्कर्ष निकालेको छ । मुलुकमा उत्पन्न अहिलेको विषम परिस्थितिमा वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता बोध गर्दै सो पार्टी एकताको पक्षमा उभिएको हो । 

उपाध्यक्ष तथा केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले आज केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै चुनौतीपूर्ण परिस्थितिमा जनक्रान्तिका उपलब्धिको रक्षा गर्न सम्पूर्ण कम्युनिष्ट, वामपन्थी तथा समाजवादी शक्तिलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरिएको छ । 

सचिवालयको १० बुँदे निर्णयमा नेकपा एसले विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकताका लागि पहल गर्ने उल्लेख छ । तत्काल एकता सम्भव नहुने अन्य पार्टीहरूसँग सहकार्यका लागि पहलकदमी अघि बढाउने निर्णय पनि उसले गरेको छ । 

‘आज मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी छ । यस्तो चुनौतिपूर्ण परिस्थितिमा हाम्रो पार्टी कम्युनिष्ट आन्दोलन तथा राष्ट्रिय स्वाधिनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्नका लागि सम्पूर्ण कम्युनिष्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकतावद्ध भएर अघि बढ्न हार्दिक अपिल गर्दछ’, निर्णयको ७ नम्बर बुँदामा भनिएको छ, ‘हाम्रो पार्टीले अँगालेका नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग पार्टी एकता गर्न र अन्य पार्टी र समूहहरूसँग वर्तमान सन्दर्भमा सहकार्य गर्न हाम्रो पार्टीको तर्फबाट पहलकदमी अघि बढाउने निर्णयसमेत गर्दछ ।’

नेकपा एसले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन समयमै गर्न ध्यानाकर्षण पनि गराएको छ । निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा चुनावको सुनिश्चित गर्न सरकार, राजनीतिक दलहरू, नागरिक समाजलगायत सम्बन्धित सबैलाई आग्रह गरेको छ । 

विगतका कामको समग्र समीक्षा गरेर निष्कर्ष निकाल्न र गल्ती कमीकमजोरीहरू सच्याउँदै व्यापक सुधारको प्रक्रियाका साथ राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, जनताको हित तथा मुलुकको समृद्धिको पक्षमा अझ दृढतापूर्वक अगाडि बढ्ने पार्टीको प्रतिबद्धता छ ।

मुलुक गम्भीर मोडमा रहेको स्थितिमा सिङ्गो पार्टी पङ्क्तिलाई निराश नभई उच्च मनोबलका साथ अगाडि बढ्न, आ– आफ्नो क्षेत्रको पार्टी काम नियमित रूपमा अगाडि बढाउन र अन्य राजनीतिक दल, नागरिक समाज एवं आम जनसमुदायसँग हातेमालो गर्दै अगाडि बढ्न समेत बैठकले निर्देशन दिएको छ । 

भदौ २३–२४ को जेन–जी आन्दोलनपश्चात्  देश अन्योलग्रस्त अवस्थामा पुगेको उल्लेख गर्दै मुलुकको सार्वभौमिकता, संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संविधान र लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूबीच सहकार्यको आवश्यकतामाथि नेकपा एसले जोड दिएको छ ।

टिप्पणीहरू