धमाधम फर्किँदै कैदीबन्दी, नआएकाको  हुँदैछ खोजी

धमाधम  फर्किँदै कैदीबन्दी, नआएकाको  हुँदैछ खोजी

भदौ २३ र २४ गतेको जेनजी विध्वंशको फाइदा उठाएर मुलुकभरका २८ वटा कारागारबाट फरार भएका कैदीबन्दीहरु धमाधम फर्किन थालेका छन् । उनीहरु स्वत स्फूर्त रुपमा कारागार फर्किरहेका छन् भने कारागार व्यवस्थापन विभागसहित प्रहरी कार्यालयले नआएका कैदीबन्दीको खोजी गरिरहेको छ । 

सहकारी ठगी प्रकरणमा नख्खु कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नक्कली कागजात बनाएर जेलबाट निस्किएपछि अन्य कारागारमा रहेका कैदीबन्दीले ‘रविलाई छोड्ने,हामीलाई किन नछोड्ने’ भन्दै नाराबाजी गरेका थिए । सुरक्षाकर्मीले रोक्ने प्रयास गरेकोमा उनीहरु तोडफोड र आगजनी गरेर भागेका हुन् । 

विभागका अनुसार झुम्का, सोलु,सप्तरी, महोत्तरी,रौतहट, सिन्धुली,नख्खु, जगन्नाथदेवल, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपश्चिम,नवलपरासी,जुम्ला,बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुरबाट कैदीबन्दी फरार भएका छन् । 

६ हजार ५८७ जना फर्किएका छन् भने सात हजार पाँच जना फर्किन बाँकी छ ।

देशभरको कारागारमा २९ हजार २१४ जना भएकोमा १३ हजार ५९२ जेनजी ध्वशंको मौका छोपेर निस्किएका थिए । १५ हजार १६२ जना भने नभागेको विभागले जनाएको छ । भागेकामध्ये ६ हजार ५८७ जना फर्किएका छन् भने सात हजार पाँच जना फर्किन बाँकी छ । रामेछाप कारागारमा तीन र धादिङ कारागारमा दुई गरी पाँच जनाको मृत्यु भएकोमा हाल कारागारमा २१ हजार ८१३ जना छन् । 

यता, बालसुधार गृहबाट ९६४ बाल बिज्याइँकर्ता भागेका थिए । कूल एक हजार ४२२ जना रहेकोमा मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जमण्डु, नौबस्ता र डोटी बाल सुधार गृहबाट सो संख्यामा बाल बिज्याइँकर्ता निस्किएको विभागले जानकारी दिएको छ । विभागका अनुसार ३४१ जना सुधार गृह फर्किएका छन् भने आउन बाँकी ६२२ जनाको खोजी भइरहेको छ । नौबस्ता कारागारमा निस्किने क्रममा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ ।

टिप्पणीहरू